‘घाटमा सेलाएको राजतन्त्र फर्कन्न’

  • ख-
  • ख+

दमौलीः गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा दमौलीमा राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको छ ।
‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं, भ्रष्टाचारको अन्त्य गरौं’ नाराका साथ पार्टी जिल्ला समिति तनहुँको आयोजनामा दमौलीमा विरोध सभा सम्पन्न भएको छ ।


सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले नेकपाको सरकारको गलत नीति तथा कार्यक्रमले जनतामा निराशा छाएको मौका छोपी राजावादीहरुले मुन्टो उठाउन खोजेको आरोप लगाए । उनले भने,‘तर यो नेपाली जनताको हितमा हुने छैन । सम्पूर्ण गणतन्त्रवादीहरु एक भएर अगाडि बढ्न जरुरी छ ।’


प्रदेश सरकारको कुनै औचित्य नरहेको हुँदा यसलाई तत्काल खारेज गरी प्रदेश सरकारको बजेट कोभिड १९ को उपचार र विकास निर्माणमा खर्च गर्न उनले आव्हान गरे ।


पार्टीका सचिव श्रीकुमार श्रेष्ठले नेपालमा भारतीय ‘र’ को प्रमुख आउना साथ देशको परिस्थिति बदलिएकोले नेकपाको सरकार साम्राज्यवादीहरुको इशारामा संचालन भएको आरोप लगाए ।
केही ‘मण्डले’को चाहनाले मात्रै नेपाली जनआन्दोलनले घाटमा लगि सेलाएको राजतन्त्र फर्कन्छ भन्ने दिवा सपना नदेख्न उनले चेतावनी दिए ।


कार्यक्रममा पार्टीका जिल्ला सदस्य धनबहादुर परियार, सहसचिव भरत केसी लगायतले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्