‘लैंगिक हिंसामा परेकालाई थप पीडामा पर्न दिन्नौं’

  • ख-
  • ख+

दमौलीः अझै पनि लैंगिक हिंसाबाट महिला पीडित हुने अवस्थामा कमी आउन नसकेको दमौलीको एक कार्यक्रमका सहभागी वक्ताले बताएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत व्यास नगरपालिकाको सहयोगमा महिला शसक्तिकरण सञ्चार समाजले गरेको विशेष बहसका सहभागीले आ–आफ्नो क्षेत्रबाट महिला थप पीडामा पर्न नदिन पहल गर्ने प्रतिवद्धता जनाए ।


व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले लैंगिक हिंसामा परेका महिलाका समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । उनले कानुनी व्यवस्थाले महिलालाई राहत दिएको भन्दै व्यवहारिक हिसाबले पनि महिला पीडामा पर्न नदिन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।


जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेलले समिति आर्थिक हिसाबले सक्षम नभए पनि आफ्ना तर्फबाट महिला अधिकारलक्षित क्रियाकलापमा कमी आउन नदिने प्रतिवद्धता जनाइन् । महिला संघ तनहुँकी सभापति समेत रहेकी उनले स्थानीय तहहरुबीच लैंगिक अधिकारका लागि पहल गर्ने प्रतिवद्धता जनाइन् ।


व्यास नगरपालिकाकी उप प्रमुख मिरा जोशीले महिलाका अधिकार मागेर नपाइने भन्दै अधिकारका लागि कुनै कसर नछाड्न सुझाव दिइन् । नगरस्तरमा लैंगिक हिंसामा परेकाका लागि न्याय दिन आफू प्रतिवद्ध रहेको उनले बताइन् ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले लैंगिक हिंसाका घटनामा शून्य सहनशिलताको नीति लिइने भन्दै प्रशासनले गुनासा आएका क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले महिला पीडामा परेका घटनामा उनीहरुका लागि सहजीकरण गर्न महिला सेल नै रहेको भन्दै महिलाको संरक्षणका लागि प्रहरीले थप पहल गर्ने प्रतिवद्धता जनाए ।


दमौलीमा हिंसामा परेका महिलाहरुलाई आश्रय दिंदै आइरहेको मादीगंगा महिला बहुद्देश्यीय संस्थाकी अध्यक्ष शान्ता खनालले आफूहरुले महिलाको कानूनी अधिकारमा पनि सघाइरहेको बताइन् ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल र शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले आफ्नो क्षेत्रमा लैंगिक समानताका सवालमा थप भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा व्यास नगर कार्यपालिका सदस्य चन्द्रमाया परियार, बार सदस्य अधिवक्ता सरिता थापा भण्डारीलगायतले आफ्ना भोगाई तथा सवाल राखेका थिए । समाजकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले लैंगिक हिंसाका सवालहरुका विषयमा सरोकारवालासँग प्रश्न गर्दै समाधानको प्रतिवद्धता गराएको सचिव अञ्जु दाहालले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी