
काठमाडौंः नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले आफुमाथि लगाएको आरोपको पत्र फिर्ता नलिएसम्म बैठकमा नआउने लिखित पत्र स्थायी समिति बैठकमा पेश गरेका छन् ।
आइतबार बसेको स्थायी कमिटी बैठकमा ओलीले आफू अनुपस्थित हुँदै पत्र पठाएका थिए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पत्रमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने धारणा राखेका छन् ।
पत्रमा ओलीले यसअधि दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने बताएका थिए ।
ओलीको धारणा विपरित शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।
अब दुवै अध्यक्षको पत्र अध्ययन गर्न भन्दै बैठक एक साताका लागि स्थगित भएको छ ।