नियमविपरितका ४ क्रसर बन्द गर्न समन्वयको निर्देशन

  • ख-
  • ख+

दमौलीः जिल्ला समन्वय समिति तनहुँले दर्ता नभएको तथा उद्देश्यविपरित सञ्चालन गरेको भन्दै चार क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ ।

शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित ती उद्योगले दर्ता नगरेको तथा उद्देश्यभन्दा बाहिर गएर काम गरेको भन्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा गएको अनुगमन टोलीले दोषी ठहर गरेका ती उद्योगलाई कारबाहीका लागि दुवै तहलाई निर्देशन दिएको हो ।


यसरी कारबाहीको सूचीमा परेको सिद्धेश्वर एग्रिगेट एण्ड कंक्रिट ब्लक उद्योग शुक्लागण्डकी २ ले कंक्रिक ब्लक उत्पादन गर्ने उद्देश्य राखे पनि क्रसर उत्पादन गरेको भन्दै अनुगमन टोलीले दोषी ठहर गरेको छ ।


यसैगरी, जय महालक्ष्मी एग्रिगेट ईण्डष्ट्रिज प्रालि शुक्लागण्डकी २ ले उद्योग सञ्चालन अनुमति नै नपाएको समन्वय समितिले ठहर गरेको छ । सेती दोभान ब्लक एण्ड एग्रिगेट उद्योग म्याग्दे ४ ले अनुमति प्राप्त गर्दा कंक्रिट ब्लक उत्पादन गर्ने पाए पनि क्रसर उत्पादन गरेको अनुगमन समितिले ठहर गरेको छ ।


ढोरबाराही एग्रिगेट ईण्डष्ट्रिज प्रालि म्याग्दे ५ ले पनि बालुवा छान्ने अनुमति लिएर क्रसर उत्पादन गरेको भन्दै समन्वय समितिले चारै उद्योगमाथि कारबाहीका लागि सिफारिस गरेको हो ।


उद्योगका बारेमा प्रतिवेदन दिन निर्देशन दिइएकामा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल नेतृत्वको टोलीले चारैवटा उद्योग नियमविपरित रहेको ठहर गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी