पितृसत्तात्मक सोचका कारण महिलाका नामबाट नागरिकता दिने कानून बनाउन सकिएनः सांसद कोईराला

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने
दमौलीः
लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान दमौलीमा शुरु भएको छ । व्यास नगरपालिकाले एक कार्यक्रम गर्दै नगर क्षेत्रमा अभियान शुरुवातको घोषणा गरेको हो ।
१६ दिन मनाइने यस पर्व नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाइदै छ । ‘लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिबद्धता ,व्यक्ति , समाज र सबैकोे ऐक्यवद्धता’, राष्ट्रिय नारा तयार पारी हिंसाविरुद्धको अभियान सुरू गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सांसद आशा कोइरालाले दिनानुदिन सचेतनाका स्तर बढ्दै गएको तर नीतिगत कानुनमा तथा संविधानमा नै नागरिकताको अधिकार पितृसत्तात्मक सोचका कारण कुण्ठित भएकाले कानुन बनाउन नसकिएको बताइन् । उनले बालबालिकालाई समेत अनागरिकको ट्याग लागेको धारणा राखिन् । प्रमुख अतिथि कोइरालाले सबै खाले हिंसा अन्त्यका लागि सम्पूर्ण नीतिगत तहदेखि कार्यान्वयन तहसम्मका सरोकारवाला निकाय, नागरिक समाज, सामाजिक अभियन्ता तथा सबै क्षेत्रबाट लाग्नुपर्ने बताइन् ।
प्रदेश सभा सांसद सरिता गुरूङले हिंसाका मुद्दाहरूलाई भाषणमा मात्र सिमित नगरी हिंसाका मुद्दामा सबैले ऐक्यवद्वता कायम गर्दै कार्यान्वयन तहमा लानुपर्ने धारणा राखिन् ।


जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेलले समन्वय समितिमा बजेट नभएकाले पनि हिंसा पीडितलाई सम्वोधन नगरपालिका तथा गाउँ पालिकालेनै गर्नुपर्ने धारणा राखिन् ।
नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महिलाका हरेक आधिकारिक मागमा अधिकार प्रत्यायोजन गर्नकै लागि धेरै संयन्त्रहरू बढ्दै गएको भन्दै व्यास नगरपालिकाले अन्य पालिकाहरूलाई समेत सँगसँगै लानका लागि समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

अन्तर्राष्ट्रिय स्तरमानै कोभिडको प्रभावले आक्रान्त बनेका बेला हिंसा पीडितको संख्या पनि बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गर्दै, स्वास्थ्यका मापदण्ड अपनाएर अन्य कार्यक्रमको समेत आयोजना गरिएको उद्घाटन कार्यक्रमकी संयोजक तथा कार्यक्रमकी उपप्रमुख मिरा जोशीले जानकारी दिइन् ।


व्यास नगरपालिकाका प्रशासकीय प्रमुख डिल्लीराम सिग्देलले व्यास नगरपालिकाले गराएका लैङ्गिक हिंसाबिरूद्वका कार्यायोजनाहरूमा साथ सहयोग र समर्थन गर्दै अगाडि बढ्ने धारणा राखे ।सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वरालले व्यास नगरपालिका साविक जिल्ला सदरमुकाम समेत भएकाले जिल्ला भरका स्थानीय निकायको अगुवा गर्दै समन्वकारी भूमिका निभाउदै सबैलाई समेट्ने कार्यक्रमहरू गर्नुपर्ने धारणा राखे ।

व्यास नगरपालिकाकी महिला विकास निरिक्षक राधा वाग्लेले कार्यक्रमका अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।
कार्यक्रममा लैङ्गिकतासँग आबद्ध संघसंस्था ,पत्रकार ,नगरपालिकाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो। यश १६ दिने अभियान सफल पार्न सबै क्षेत्रको साथ, समर्थन र सहकार्यको अपेक्षा गरेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले भर्चुअल कार्यक्रममा जोड दिदै सूचना तथा सञ्चारका माध्यमबाट सचेतना कार्यक्रमहरू गर्ने ,परिसंवाद कार्यक्रम गर्ने, पत्रिकाका बिशेषाङ्क निकाल्ने लगायतका योजनाहरू अघि सारेको नगरपालिकाकी महिला विकास निरिक्षक रेणु नेपालीले जानकारी दिइन् ।


विभिन्न सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लैङ्गिक विभेदका विरूद्वमा काम गर्ने संघसंस्था ,पत्रकार लगाएको उपस्थितिमा १६दिन सम्म कार्यायोजना अनुरूप काम गर्दै जाने व्यास नपाले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी