दमौलीका १२ स्थानमा ‘विशेष’ जेब्रा क्रस राखिने

  • ख-
  • ख+

दमौलीः दमौली बजारका १२ ठाउँमा जेब्रा क्रस राखिने भएको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँले व्यास नगरपालिकाको आर्थिक सहयोगमा नगरका १२ ठाउँमा त्यस्ता जेब्रा क्रस राख्न लागेको हो ।


व्यास २ बुल्दी पुलदेखि २, ३ र ४ का विभिन्न मुख्य चोक र सडमा पैदलयात्रुका लागि प्रष्ट चिनिने खालका जेब्रा क्रस राखिन लागिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । ‘सडकमा पार्किङ व्यवस्थापन गरेसँगै यात्रुको सहजताका लागि पनि जेब्रा क्रस आवश्यक पर्ने भएकाले राख्न लागेका हौं,’ उनले भने ।


उनका अनुसार यसका लागि व्यास नगरपालिकाले एक लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ । ‘व्यास नगरपालिकाबाट एक लाखको प्रतिवद्धता आएको छ,’ उनले भने,‘त्यही रकमबाट काम थाल्छौं ।’
उनका अनुसार आईतबारबाट काम थालिनेछ । यसपाली पहिलेको भन्दा फरक र पैदलयात्रुको चिह्न टाढैबाट देखिने गरी विशेष खालको जेब्राक्रस राख्न लागिएको उनले बताए । ‘रातका समयमा समेत प्रकाशमा परेर टल्कने गरी विदेशमा जस्तै पैदलयात्रुको संकेत समेत राख्दैछौं,’ उनले भने ।


ट्राफिक प्रहरीले बजारभित्र कम गतिमा सवारी चलाउनका लागि नियम बनाए पछि जेब्रा क्रस समेत थप्दा चालकलाई मनोवैज्ञानिक हिसाबले पनि दबाब पर्ने विश्वास लिएको छ । यस अघि दमौलीको ट्राफिक चोक तथा भोर्लेटार चोकमा बनेका क्रसको रङ उडिसकेकाले चिनिन पनि समस्या परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी