व्यास १३ र १४ मा शिक्षाका लागि एसओअएस बालग्रामद्वारा १० करोडको कार्यक्रम घोषणा

  • ख-
  • ख+

दमौलीः व्यास १३ र १४ का बालबालिकाको विद्यालय छाड्ने दर घटाउन तथा शिक्षामा स्तरवृद्धिका लागि भन्दै चर्चित संस्था एसओएस बालग्राम नेपालले परिवारमा आधारित सबलिकरण कार्यक्रम घोषणा गरेको छ । तीन वर्षसम्म दुई वडामा चल्ने परियोजनाका लागि झण्डै १० करोड रकम खर्च गर्ने संस्थाले घोषणा गरेको छ ।


व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र बालग्रामका अध्यक्ष ज्योतिरत्न धाख्वाले संयुक्त रुपमा कार्यक्रमको घोषणा गरे । प्रमुख न्यौपानेले एसओएसले अरु जिल्लालाई पनि हेरेर नगरपालिकालाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गर्दै यसले पछि परेका समुदायका बालबालिकाको शिक्षास्तर उकास्न मद्दत पुग्ने आशा गरे ।


बालग्रामका अध्यक्ष धाख्वाले कार्यक्रम सञ्चालन भएका अन्य स्थानमा राम्रो नतिजा आएको भन्दै नमूना देखाउन पाउने आशा गरे । उनले संस्थाले बालबालिका, विद्यालय तथा अभिभावक सबैका क्षेत्रमा सहयोग गर्ने भन्दै वातावरणमा सुधार गरेर बालबालिकाको शिक्षास्तर उकास्न कार्यक्रम लक्षित रहेको बताए ।


संस्थाले यस अघि विपन्न वर्गका बालबालिकालाई आवासिय शिक्षा दिंदै आइरहेको छ । तर अब समग्र समुदायकै शिक्षस्तर वृद्धिमा सघाउन सकिएमा धेरैको शिक्षास्तर उकासेर असल नागरिक उत्पादनको अपेक्षा गरिएको अध्यक्ष धाख्वाले बताए ।
कार्यक्रमले विपन्न वर्गका बालबालिकाको शिक्षा सुधारका लागि विद्यालयका शिक्षकलाई तालिम, अभिभावकको आयआर्जनमा लगानी तथा सहयोग र पोषणसमेतमा लगानी गर्ने संस्थाका कार्यक्रम निर्देशक उपेन्द्र मल्लले बताए ।


दुवै वडाका विपन्न र दलित वर्गका बालबालिकाले आर्थिक अभावमा पठनपाठन नै छाड्ने अवस्था आएकाले कार्यक्रमले यसलाई कम गर्ने आशा गरिएको व्यास १४ का वडाध्यक्ष काजिमान श्रेष्ठले बताए । ‘दलित र जनजाति बहुल क्षेत्रमा घरका कारण पनि स्तरीय शिक्षा लिन नपाएका बालबालिकालाई यस कार्यक्रमले सघाउँछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।
कार्यक्रमअन्र्तगत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अलावा संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका बालबालिका र उनीहरुका परिवारलाई पनि शिक्षा र आयमूलक कार्यमा सघाइने संस्थाले बताएको छ ।


घोषणा कार्यक्रममा नगर उप प्रमुख मिरा जोशी, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर रानालगायत जनप्रतिनिधि तथा विद्यालयका अधिकारीहरु उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी