
गीता थापा रखाली मगर
नाम सुन्ने बित्तिकै एकपटक मानुङकोट घुम्ने रहर कस्लाई पो नहोला र ? नहोस् पनि कसरी, कोरोनाको कहर र लकडाउनले थकित नेपालीहरु मन शान्त पार्न र आनन्द खोज्न मानुङ जान उत्साहित देखिन्छन् । पछिल्लो समय सामाजिक सन्जालमा भाइरल भएपछि त मानुङ्कोटको शिर एकाएक देशैभर चर्चाको शिखरमा पुगेको छ ।

दैनिक हजारौंको संख्यामा देशका विभिन्न स्थान देखि पर्यटकहरुको घुइँचो लाग्न थालेपछि स्थानीय निकायले सीमित संख्यालाई मात्र जान पाउने गरी नियमै बनाउनुपर्ने बाध्यता आइलागेको छ । मानुङकोट यसरी एक्कासी चर्चा हुनुको पछाडी विहानको समयमा दमौली बजार र आसपासमा छोपेको अचम्मको कुहिरोको अभिनय, सुर्योदय र लोभलाग्दो टलक्क टल्किएका सेताम्मे हिमश्रृङ्खलालाई कारण मान्न सकिन्छ ।
यी सबै दृश्यहरु विहानको समयमा एकै चोटी देख्न सकिने भएकाले पनि अधिंकाश पर्यटकहरु नाइट क्याम्प सहित मानुङ पुगेको पाउन सकिन्छ । अर्कोतर्फ मानुङमा दिउँसोको समयमा लावालस्कर सहितका हिमश्रृंखला, सुन्दर दमौली बजार, आफ्नै लयमा बगिरहेको मादी नदी, तनहुँ जलविद्युत आयोजना तथा विभिन्न जिल्लाका मनमोहक दृश्यहरु हेर्नका लागि दिउँसोको समय उपयुक्त छ ।
मानुङ्कोटको नाम कसरी रहन गयो ?
पछिल्लो समय मानुङ्कोटको चर्चा चुलिए सङ्गै नामकरणका विषयमा विभिन्न शब्दहरुको प्रयोग भएको पाइएकाले कतै मानुङ्कोटको ऐतिहासिक नाम मेटिन गैरहेको त छैन भन्ने चिन्ताले गर्दा स्तम्भकारले उक्त स्थानको अवलोकनपश्चात सोही ठाउँमा जन्मी हुर्की हालसम्म मानुङमै रही क्रियाशिल स्थानीय वृद्ध, वुद्धिजिवीहरु सँगको कुराकानीका आधारमा यो लेख तयार पारिएको छ ।
पछिल्लो समय धेरै स्थानहरुको आदिम र ऐतिहासिक नाम विभिन्न कारणले अपभ्रंश हुँदै परिवर्तन हुँदै आइरहेको हामी सुन्दै र देख्दै आईरहेका छौ । यसको ज्वलन्त उदाहरण हाम्रै तनहुँको रिसिङ पनि हो । मगर समुदायको बाहुल्यता रहेको रिसिङ्देखि नै मगर समुदायको भाषा, संस्कार र संस्कृतीको विकास भएका केही प्रमाणहरु भेटिएका छन् ।
मगर भाषा र पहिचानसँग सम्बन्धित ‘रिसिङ’ नाम पछिल्लो समय ऋषिङ्तर्फ अपभ्रंश हुँदै गैरहेको छ । तर त्यहाँका आदिम मगरहरु हाल सम्म ‘रिसिङ’नै भन्ने र लेख्ने गर्दछन् । यी र यस्तै कारण पनि नामकरणको विषयमा खोज र अनुसन्धान जरुरी ठानेर मैले मानुङ्कोटको नामकरणका विषयमा स्थानीय अग्रज व्यक्तित्वहरुसँग गरीएका केही खोजहरु प्रस्तुत गरेको छु ।
मानुङको मगर साइनो
आदिमकाल देखि नै मानुङकोटमा मगर समुदायको बसोबास र थाकथलो रहेको र पछिल्लो समय पानीको अभाव र खुशी जीवनयापनका लागि बेंशी झर्ने परम्पराले दमौली बजार र आसपास देउराली, मैदान, चारघरे, छापथोक, टाकराङ, अर्चलचौर लगायतका स्थानमा मानुङबासीहरु रहेका छन् । यही कारण कुनै समय ४०÷५० घरधुरी रहेको मानुङकोटमा हाल जम्मा आठ घर मात्र रहेका छन् ।
जसमध्ये एक घर दलित समुदायको र अन्य सात घर मगर समुदायको रहेको हालसम्म मानुङ्कोटमै बस्दै आउनुभएका ७० वर्षीय तोयाराम थापा मगर बताउनुहुन्छ । मानुङ्कोट पन्चायतकालमा गुणादी महेन्द्रपुर–२, बहुदलपछि जामुने –८ र गणतन्त्रपश्चात व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको थापा मगरको भनाई छ ।
मनु ऋषिको वासस्थान
पन्चायतकालमा गुणादी –२ मानुङकोटका वडाअध्यक्ष हाल अलैंचे निवासी (बसाई झर्नुभएको) विष्णुलाल थापादलार्मी मगर मानुङ्कोटको नामकरणका विषयमा यसो भन्नुहुन्छ, ‘मनु नाम गरेको मगर ऋषिले तपस्या गरेको ठाउँलाई मानुङ् भनियो अर्थात मनु ऋषिले उक्त ठाउँको नाम मानुङ राख्न दिएको हो ।
मनु ऋषि अविवाहित हुनुहुन्थ्यो । जटा लामो थियो, सबैले मान्थे । मैले पनि सानैमा देखेको हो । उहाँ ८९ वर्षको उमेरमा बित्नुभयो । उहाँ झ्याडी मगर हो, उहाँका भाइखलक कुवाडीमा रहेका छन् ।’
मनु ऋषिकै नाममा मंसिर पूर्णिमाका दिन सिद्ध पुजा गरिन्छ ।
पुजा गर्दा पुजारीहरु मनु ऋषिकै खलक झ्याली मगरहरु रहने र उनीहरुले पुजा गरेर सकि सकेपछी मात्र अरुको भाकल र पुजा चल्ने परम्परा छ । अझै सम्म पनि ऋषिले प्रयोग गर्दै आएको खजना र तपस्या गरेको शिलाहरु सुरक्षित रहेको दलार्मी मगरले जानकारी दिनुभयो ।
मनु ऋषिले तपस्या गर्ने शिला ढुङ्गालाई मगर ढुट भाषामा ल्हुङ् ÷ल्हुङ्ग भनिन्छ । मनु + ल्हुङ् समास भएपछि मानुङ् रहन गयो की भन्ने अर्थ पनि लाग्न सक्छ । किनकी तनहुँका मगरहरुले बीचको ‘ह’ लुकाएर बोल्ने र आकार नभएको ठाउँमा आकार थपेर बोल्ने गरेको एक अध्ययनले देखाएको छ । आकार नभएको ठाउँमा आकार राखेर मगर लगायत सबै जनजातीले प्रायः बोल्ने गर्दछन् ।
जस्तै ः मनु + ल्हुङ
मानु+ङ = मानुङ
मनु मगर तान्त्रीक विद्या भएको र सबै त्यहाँका मगरले उनलाई मान्दै आएकोले यसलाई मगर ढुटामा मनिटा जाटके भनिन्छ । मनिटा जाटनाङ जाटनाङ बहाको नामबाट मानुङलाई मानेको कुरा सहजै बुझन सकिन्छ । मगर संस्कारमा पुर्खा÷पितृलाई निकै मान्ने र हरेक साल पूजा पनि गर्ने चलन रही आएको छ ।
तनहुँका मगर संस्कृतिविद् एवं राजनीतिकर्मी यमबहादुर आलेमगरले २०५३ सालतिर प्रकाशन गर्नुभएको मगर भाषाको ‘होटा म्हाले, इटा आले’(त्यसो होइन, यसो हो) नामक पुस्तकमा माना र ल्हुङ (माना र ढुंगा) समास भएर ‘मानाल्हुङ’ हुँदै ‘मानुङ’ भएको तर्क गर्नुभएको छ ।
यसरी मगर ऋषि मनु झ्याडी मगरले शिला ढुङ्गा अर्थात मगर भाषामा ल्हुङ्मा तपस्या गरेको आधारलाई मानेर हेर्दा पनि मगर सभ्यता मिल्न गई मानुङ रहन गएको तर्क मिल्न जान्छ ।
तनहुँका मगर संस्कृतिविद् एवं राजनीतिकर्मी यमबहादुर आलेमगरले २०५३ सालतिर प्रकाशन गर्नुभएको मगर भाषाको ‘होटा म्हाले, इटा आले’(त्यसो होइन, यसो हो) नामक पुस्तकमा माना र ल्हुङ (माना र ढुंगा) समास भएर ‘मानाल्हुङ’ हुँदै ‘मानुङ’ भएको तर्क गर्नुभएको छ ।
अर्कोतर्फ सामाजिक अभियन्ता एवं युवा नेता समाजसेवी बिरु थापामगर मानुङ नामाकरणबारे यसो भन्नुहुन्छ । “उतिबेला डाँडामा पानी बोक्न, नुन तेल लिन, घाँसपात गर्न निकै दुःख भएको देखेर अन्य गाउँका छोरीचेलीले दुःख पाउँछन् भनी त्यहाँ विवाह गरेर नजाउन् भन्ने चलन थियो । आफ्ना अभिभावकले बिहेवारी गरी नजाउ है भनेर भन्दाभन्दै भागी बिहे गरी गएको कारण मगर भाषामा – (मान्नी = नजाउ) भन्दा भन्दै गएकाले माइती पक्षले छोरीलाई भागि गएछ – मगर भाषा मानुलेसा÷नुहुके, मानुङ भन्दा झन्हुङ्ग गरेछ ।
यसरी मान्नी÷मानुनी नजाउ भन्दा भन्दै नुलेसा अर्थात न्हुङ्ग गएछ भन्ने शब्द देखि मानुङ नाम रहन गएको हो ।” युवा नेता वीरबहादुर थापाको तर्कलाई आधार मान्ने हो भने मगर भाषामा मानुङ शब्द यसरी निर्माण भएको देखिन्छ ।
मानुङ + न्हुङ्ग = मान्हुङ्ग
स्तम्भकारले उक्त स्थानमा ढुङ्गाको माना बनाउने चलनबारे प्रश्न गर्दा लालबहादुर थापा र बिरु थपा दुवैले एक्यवद्धताजनाउदै पूर्वजहरुले माना (खाद्यान्न नापतौल गर्ने स्थानीय सामग्री) निमार्णका लागी मिल्ने ढुङ्गा सोही डाँडाको प्रयोगमा ल्याउने गरेका थिए ।
सोही मानाजस्तो ढुङ्गा अर्थात् मगर भाषामा मानाजस्तो ल्हुङ् देखि मानुङ रहन गएकोतर्फ भाषा विज्ञानको कोणदेखि हेर्दा मिल्न जान्छ । जस्तै ः माना + ल्हुङ्ग = मान्हुङ्ग
हालसम्म पनि मानुङ्मा मानाजस्तो ढुङ्गाहरु डाडैंभरी छपक्कै देख्न र भेट्न सकिन्छ । स्थानीय सुमन थापामगर यस्तो भन्नु हुन्छ, ‘मानुङडाँडा आफंैमा मानाजस्तो देखिन्छ, मानाको आकारमा घोप्टो बनाएर राखे जस्तो डाँडा देखिन्छ । सोहि कारण त्यस स्थानको नाम ‘माना’ र ‘ल्हुङ्ग’ मिलेर स्थानीय बोलिचालीमा मानुङ र भाषाविज्ञानका दृष्टिकोणले मान्हुङ्ग रहन गएको बताउनु हुन्छ ।
पछिल्लो समय ठोस आधारबिना मानहुँ वा मान्हौं लेख्ने क्रम बढिरहेको अवस्थामा मानुङ्को ऐतिहासिक नाममाथि कतै आक्रमण त भैरहेको छैन ? प्रश्न गर्नुपर्ने विषय बनेको छ । ‘मानहुँ’ वा ‘मान्हौं’ शब्द कुनै इतिहास, सभ्यता, भाषाविज्ञान र संस्कृतीकरणका हिसाबले पनि सही देखिन्न ।
निष्कर्ष ः
मानुङकोटको नामकरणबारे स्थानीय अग्रज तथा बुद्धिजीविहरुको भनाईलाई आधार मानेर हेर्दा मानुङ र मान्हुङ्ग यी दुवै मगर सभ्यता र भाषा विज्ञानदेखि निर्माण भएको भाषिक वैज्ञानिक आधारमा सही ठहरिन्छ ।
पछिल्लो समय ठोस आधारबिना मानहुँ वा मान्हौं लेख्ने क्रम बढिरहेको अवस्थामा मानुङ्को ऐतिहासिक नाममाथि कतै आक्रमण त भैरहेको छैन ? प्रश्न गर्नुपर्ने विषय बनेको छ । ‘मानहुँ’ वा ‘मान्हौं’ शब्द कुनै इतिहास, सभ्यता, भाषाविज्ञान र संस्कृतीकरणका हिसाबले पनि सही देखिन्न ।
तर, मानुङकोटको नामकरणका विषयमा यस्तै खोज अनुसन्धान सबै क्षेत्रबाट हुन गएमा र मानुङबासी स्थानीयहरुले ठोस निष्कर्ष निकाली सोही तरिकाले सहि नामको प्रचार प्रसार गरेमा ऐतिहासिक मानुङको नाम अपभ्रंश हुन देखि जोगाउन सकिएला ।
( लेखक मगर भाषाको साहित्यकार तथा मगर लेखक संंघ केन्द्रीय सदस्य हुन् । )