तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले अब पार्टीमा पुरानो ढर्राको अन्त्य भई नयाँ राजनीतिक संस्कृतिको सुरुवात भएको दाबी गरेका छन्। गुटबन्दी, भागबण्डा र ‘अँध्यारो कोठा’ का सम्झौताबाट मुक्त कांग्रेस निर्माण गर्ने उद्घोष गर्दै उनले पार्टीभित्र अब सबैको समान हक र सम्मान हुने बताएका हुन्।

शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आफू आज जुन जिम्मेवारीमा आइपुगेको छु, त्यो स्थानमा उभिन पाउने अधिकार सबै कांग्रेसजनसँग बराबर रहेको बताए । ‘म जहाँ छु, त्यहाँ उभिन पाउने हक तपाईंहरू सबैको हो’, उनले भने । थापाले यस पटक सहज मानिएको काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ बाट चुनाव लड्ने निर्णय सोचेरै गरेको स्पष्ट पारे ।

पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको उल्लेख गर्दै उनले भने, ‘देशको नेतृत्व गर्ने हो भने मधेसलाई गम्ल्याङ अँगालो हाल्नु पर्छ  ।’ उनले मधेसका मुद्दालाई आफ्नै मुद्दा बनाउने र मधेस–काठमाडौंबीच सेतु बन्ने उद्देश्यले आफू सर्लाही गएको बताए ।

‘म जोड्ने राजनीतिमा विश्वास गर्छु, तोड्ने राजनीतिमा होइन । उनले चेतनाको राजनीति गर्ने, उत्तेजनाको होइन भन्ने स्पष्ट सन्देश दिएका छन् । ‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताए ।

अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन

‘तपाईंहरू मेरो लागि नेता–कार्यकर्ता होइन, आमा–बुबा, दाजुभाइ, दिदीबहिनी जस्तै हुनुहुन्छ’, उनले भने । काठमाडौंले आफूलाई विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म धारिलो बनाएको उनको भनाइ थियो । सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन सम्पन्न हुने घोषणा गरे । नयाँ अधिवेशनपछि उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ मार्फत वडाबाटै हुने उनको भनाइ छ । ‘अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन’, उनले स्पष्ट पारे ।

थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भएको दाबी गरे । ‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा’, उनले भने, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ ।’

सभापति थापाले अब कांग्रेसमा कुनै पनि ‘अँध्यारो कोठा’ को राजनीति नहुने बताए। ‘पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन’, उनले भने ।

थापाका अनुसार नयाँ कांग्रेस भनेको केवल चुनाव जित्ने मात्र होइन, नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने कांग्रेस हो । अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पुर्‍याउन उनले आह्वान गरे । ‘यो कांग्रेसले देश सम्हाल्छ’, भन्दै उनले भने, ‘अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस हो ।’ साभारः अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्