
दमौलीः व्यास नगरपालिकाले नागरिकका सुझावका आधारमा आगामी विकास योजना तथा कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको बोर्ड बोर्ड बैठकले जनप्रतिनिधिको कार्यकाल ४३ महिना पुरा भैसकेको भन्दै अब बन्ने नीति, कार्यक्रम तथा योजना निर्माण तथा प्राथमिकता तय गर्नका लागि शेयरकाष्ट इनिसियटिभसंग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अहिलेको अवस्थालाई चुनौतिपुर्ण भन्दै व्यास नगरपालिकाबाट जारी भएको विद्यालय सञ्चालन सहजीकरण निर्देशिका, २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न वडा समितिबाट विद्यालयको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । यसका लागि नगर शिक्षा समितिबाट सहजीकरण गर्ने नगर कार्यपालिकाको निर्णयमा छ ।
नगरपालिकाको मुल कार्यालयबाट प्रवाहित हुने सेवा, अवसर र चुनौतीका बारेमा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतबाट प्रस्तुत भई समिक्षा समीक्षा गर्दै यसै महिनाको चौथो हप्तामा शाखा, उपशाखा प्रमुख र वडा सचिवहरुलाई ५ दिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम र प्राविधिक हरुको कामको समिक्षा गर्दै पुनर्ताजगी तालिम सञ्चालन गर्न कार्यालयलाई निर्देशन
गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले मानुङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो राखेर भ्रमण गरेको भन्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय किरण गुरुङसहित संघ तथा प्रदेशका सांसद तथा पर्यटनविद्प्रति धन्यवाद दिएको छ ।
साथै, गण्डकी प्रदेश सरकारसंग मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न, मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालन गर्न र पर्यटकहरु आराम गर्ने सेड निर्माण गर्न सहयोग माग गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।
बैठकले व्यास नगरपालिका युवा परिषद् नियमावली, २०७७ पारित गर्ने निर्णय पनि गरेको जनाइएको छ ।