मास्क नलगाएको भन्दै चिकित्सकमाथि कुटपिट

  • ख-
  • ख+

दमौलीः देवघाटमा मास्क लगाउने विवादमा भएको झडपमा परी एक चिकित्सक घाइते भएका छन् । बिहिबार बिहान देवघाट घुम्न परिवारसहित गएका बाराका चिकित्सक डा. विकेश पाण्डे मास्क नलगाएको विवादमा भएको झडपमा परी घाइते भएका हुन् ।


उनीमाथि देवघाट जाने पुलमा आक्रमण भएको थियो । विवादका क्रममा टाउकोमा बोतल प्रहार भए पछि उनी घाइते भएका थिए । पाण्डे पत्नी, आफन्तसहित देवघाट भ्रमणका लागि गएका थिए । आफूमाथि देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले कुटपिट गरेको पाण्डेले बताए ।

‘ममाथि कोकको बोतलले प्रहार गरियो,’ उनले भने । आफूमाथि विभेदका शब्द प्रयोग पनि भएको आरोप उनको छ । टाउकोमा चोट लागेर घाइते पाण्डे घर गैसकेका छन् ।
प्रहरीले भने विवादित दुवै पक्षबीच सहमति भैसकेको बताएको छ ।

‘कुटपिट भएको भनेर निवेदन लिएर आउनुभएको थियो,’ ईलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरिक्षक उज्वल शिलवालले भने,‘तर दुवै सहमति गरेर गैसक्नुभएको छ ।’

‘मास्क लगाउनुस् भन्दा विवाद भयो’
कुटपिटको आरोप लागेका श्रेष्ठले मास्क लगाउन भन्दा अपशब्द प्रयोग भए पछि कुटपिट भएको स्विकारे । ‘कोरोनाका कारण दुई जना पारिवारिक सदस्य र आफन्त गुमाईसकेको छु मैले,’ उनले भने,‘मास्क लगाएर जानुस् न भन्दा उहाँले के गर्न सक्छस् भने पछि धकेलाधकेल हुँदा झपड भएको हो ।’

श्रेष्ठले आफूले गल्ती भएकोमा माफी मागिसकेको भन्दै अब गल्ती नगर्ने भने पछि सहमति गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी