
दमौलीःगुणस्तरहिन तेल प्रयोग गर्ने पाउरोटी उद्योगसहित खाद्य मापदण्ड पुरा नगरेका व्यास २ उत्तरशिला लाईनका चार पसललाई तनहुँ प्रशासनले जरिवाना गरेको छ ।
प्रशासन नेतृत्वको टोलीले केही दिन अघि गरेको अनुगमनका क्रममा दर्ता नभएका, गुणस्तर मापदण्ड पुरा नगरेका तथा स्थानीय मदिरा राखेका पसलका सञ्चालकलाई कारबाही गरेको थियो ।
प्रशासनले प्रयोग गरिसकेको कम गुणस्तरको तेल प्रयोग गरेर दुनोट तथा नारा मिठाईमा प्रयोग गरेको भन्दै माला पाउरोटी उद्योग, कम गुणस्तर तथा दर्ता र नवीकरण पनि नभएको भन्दै न्यू अशोक नारा मिठाई उद्योग, म्याद नाघेको सामान बेचेको तथा दर्ता नगरेको भन्दै राज पाउरोटी उद्योगलाई कारबाही गरेको छ ।
उनीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले प्रशासनले जरिवाना गराएको छ । यसैगरी, स्थानीय मदिरा बिक्री गरेको भन्दै राममाया होटललाई कारबाहीका लागि भने आन्तरिक राजस्व विभागमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
‘नियम पालना नगरेको पाइएका व्यवसायीमाथि कारबाही भएको छ,’ उनले भने,‘बजार अनुगमन अझै बढाउँछौ र कारबाही पनि बढाउँछौं ।’
यस अघि बजार अनुगमन भए पनि दोषीमाथि कारबाही नहुने गरेको अवैध मदिरा भएकाले आन्तरिक राजस्व कार्यालयमा पठाईएको छ । मदिरा कार्यालयले हेर्ने भएकाले नियमअनुसार कारबाहीका लागि पठाइएको प्रजिअ आचार्यले बताए ।