बिरामी नै नबचेपछि उपचारका लागि संकलित ५७ हजार परिवारलाई बुझाइयो

  • ख-
  • ख+

दमौलीः दुवै मृगौला फेल भएका व्यास ५ निबुवाटारका टेकबहादुर आले मृत्युसँग लड्दालड्दै संसारबाट विलिन भैगए । सुभेच्छुकले सहयोग गरेमा बाँच्ने उनको धोको थियो । र, उनका आफन्त र सुभेच्छुकले आलेको उपचारका लागि चलाएको ‘टेकबहादुर बचाउन अभियान’ले गति पनि लियो ।

छोटो समयमै युएईसहित देश तथा विदेशमा रहेका आफन्त र परिवारसमेतले सहयोग गर्न थाले । साँगे तथा आसपास क्षेत्रका आफन्त र सुभेच्छुकबाट पनि राम्रै सहयोग संकलन भैरहेको थियो । अकस्मात बिरामीले च्यापेपछि उपचारका लागि पोखरास्थित चरक अस्पतालमा लगिएको थियो ।

तर, सायद उनी भगवानका प्यारो भैसकेका थिए, उनको गत कार्तिक १७ गते उपचारकै क्रममा निधन भयो । उनका आफन्त नवीन थापा र सन्तोष रानाले थालेको उपचार सहयोग संकलन अभियानले गति लिएकै थियो । तर मुख्य मानिसलाई बचाउन सकिएन ।


आले नरहे पनि अभियानले गति पाएकै कारण सहयोग रकम संकलन भैरहेको थियो । अब अभियान त रोकिएको छ । तर यस अघि प्रतिवद्धता जनाएका व्यक्तिबाट संकलित सहयोग भने समितिले लिएर परिवारलाई बुझाउन लागेको सन्तोषले बताए । ‘उहाँलाई बचाउन नसके पनि परिवारलाई राहत होस् भनेर संकलित रकम पठाएका छौं,’ उनले भने ।


हालै मात्र सुजन थापाको पहलमा कतार प्रहरीमा कार्यरत नेपालीबाट संकलित ४५ हजार रुपैयाँ तथा नविन थापाको पहलमा युएईको युनिलिभरमा कार्यरत नेपालीबाट संकलित थप १२ हजार पाँच सय रुपैयाँ गरी ५७ हजार पाँच सय परिवारलाई बुझाइएको छ । ‘उपचारमा धेरै ऋण पनि लागेकाले संकलित रकम त्यसमा सहयोग हुने आशा छ,’ युएईमा रहेका नवीनले भने ।


सहयोग अभियानमा सक्रिय आगमन फोटोग्राफीका मोहनराज आलेले संकलित रकम परिवारका सदस्यलाई बुझाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्