
दमौलीः नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका तनहुँका प्रतिष्ठित व्यवसायी देवकुमार श्रेष्ठ देश दौडाहामा जुटेका छन् ।
बहालवाला केन्द्रीय सदस्य श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट खुलातर्फ केन्द्रीय सदस्यका लागि गत १७ गते नै उम्मेदवारी दर्ता गराएका श्रेष्ठको महासंघ दौडमा देशैभरबाट सकारात्मक प्रतिक्रिया मिलेको भन्दै उनी उत्साही बनेका छन् । ‘६५ शाखामा पुगिसकें,’ उनले भने,‘सबैतिरबाट सघाउने ग्रीन सिग्नल मिलेको छ ।’
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधान समूहनिकट भए पनि मिलनसार छवि र पुरानो व्यवसायिक सम्बन्धका कारण श्रेष्ठलाई विगतमा भन्दा राम्रो सहयोग पाउने आशा छ । ‘पहिले पनि साथीहरुले विश्वास गर्नुभएको हो,’ श्रेष्ठले भने,‘तर बराबरी भएका कारण आधा कार्यकालमा सोचेका कुरा पुरा गर्न सकिन । अब पूर्ण कार्यकालका लागि सघाउने बचन मिलेको छ ।’
‘बैंकलाई जिम्मेवार बनाउन दबाब दिन्छु’
त्यसै पनि व्यवसायी बैंकहरुको मारमा पर्दै आएकामा कोरोनाले झनै जटिल अवस्था आएको भन्दै श्रेष्ठले त्यसका विरुद्ध आफूले आवाज उठाउने बताए । ‘केन्द्रदेखि क्षेत्र र जिल्लासम्म आवाज उठाउन आवश्यक छ,’ उनले भने,‘सरकारले गरेको घोषणा पनि कार्यान्वयन नभएकाले त्यसका लागि दबाब दिन सक्रिय हुनेछु ।’
पटक पटक उत्कृष्ट व्यवसायीका रुपमा सरकारबाट पुरस्कृत समेत भैसकेका श्रेष्ठको पुरानो व्यवसायिक सम्बन्ध र ठूला घरानाका अलावा मध्यम र सामान्य वर्गका व्यवसायीसँग सौहार्द सम्बन्ध छ । यसले पनि नेतृत्वको दौडमा अघि बढ्न उनलाई हौसला मिलेको छ ।
‘नगर र जिल्लाको आवाज प्रखर पार्छु’
उद्योग वाणिज्य महासंघलाई धनीको संस्था भनेर कतिपयले आलोचना पनि गर्ने गर्छन् । तर श्रेष्ठ भने सक्षम व्यक्ति गएमा जिल्ला र नगरको आवाज पनि मुखरित हुनेमा विश्वास गर्छन् । ‘सक्षम व्यक्ति गएर दह्रोसँग आवाज राख्न सक्ने हो भने नगर र जिल्लाका कुरा नसुनिने होइनन्,’ उनले भने,‘म अब त्यो भूमिकामा प्रस्तुत हुन चाहन्छु ।’
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठसहित कार्यसमिति र बजार एकाईका अलावा यस क्षेत्रमै श्रेष्ठको समर्थनमा व्यवसायीले सामाजिक सञ्जालमा पनि प्रचार अभियान थालेका छन् । टिम मात्र नभएर अन्यत्रबाट पनि मत प्राप्त गरेर विगतमा बराबरीको रेकर्ड तोडेर संघलाई नेतृत्व दिने दौडमा श्रेष्ठ यसपाली बढी नै आशावादी देखिएका छन् ।