मृगौला बिरामीको पीडाः १५ लाख सकिएपछि डायलसिस घट्यो

  • ख-
  • ख+

भानुः भानु ५ का शुब्बाबहादुरको मृगौलाको समस्या देखिएको पाँच वर्ष भयो । शुरुमा त उनले यत्तिकै ठिक हुने भन्दै पेलेरै बसे । तर जब गाह्रो हुँदै जान थाल्यो, उनी चिकित्सककहाँ गए । पहिले एउटा मात्र मृगौला फेल भएकाले औषधी खाएरै धानेका थिए । तर जब बिरामीले च्याप्दै गयो, अनि उनले फेरि जाँचे । थाहा भयो दुवै मृगौला फेल भएछ ।


एउटा मृगौला फेल भएर उपचार गरेयता मात्र उनले झण्डै १५ लाख सकाए ।
अब चिकित्सकले हप्तामा दुई पटक डायलसिस नगराएसम्म हुँदैन भनेर भन्छन्, तर उनको साथमा भएको पैसा धेरै सकिइसक्यो ।

खेती किसानी गर्दै आएका उनका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पठाएको पैसाले नै अहिलेसम्म जेनतेन उपचार गर्दै आएका थिए । ‘हप्तामा दुई पटक डायलसिस गर्नुपर्छ भन्छन्,’ उनले भने,‘त्यत्रो पैसा सकिइसक्यो अब खर्च नपुगेपछि एक पटक मात्र गराउन थालेको छु ।’


दमौलीमा रहेको मृगौला उपचार केन्द्रमा पालो नपाए पछि उनले पोखराको निजी अस्पतालमा डायलसिस गराउँदै आएका छन् । यसले जाँदा आउँदा पनि खर्च बढेकाले उपचारमा समस्या परेको उनका छिमेकी शैलेष खातीले बताए ।

‘अलि अलि भएको पैसा पनि सकिएपछि साह्रै गाह्रो परेको छ,’ उनले भने,‘देश विदेशमा रहेका साथीभाईबाट सहयोग जुटाउन पाए उहाँहरुलाई केही सहज हुन्थ्यो कि भनेर लागेका छौं ।’
सबैतिर सुभेच्छुक र आफन्तले उपचारमा सघाएकाले खत्री आफ्नो उपचारमा पनि सहयोग जुट्नेमा आशावादी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्