तनहुँ हाईड्रोको असरः दाहस्थल नहुँदा झापुटारमा शव जलाउनै समस्या

  • ख-
  • ख+

झापुटारः तनहुँ जलविद्युत आयोजनाले गिटी बालुवा झिक्न थाले पछि ऋषिङ्ग १ झापुटार तथा बेल्टार क्षेत्रमा घाटको अभाव भएको छ । स्थानीयले वर्षौंदेखि प्रयोग गर्दै आइरहेको घाट सेती नदीबाट आयोजनाले गिटी बालुवा झिक्न थालेयता नदीले धार परिवर्तन गरिदिए पछि शव जलाउन नमिल्ने अवस्था आएको स्थानीयको गुनासो छ ।


झापुटार र बेल्टारमा परम्परागत रुपमा प्रयोग गर्दै आईरहेको दाहसंस्कार गर्ने घाट नहुँदा ठूलो समस्या उत्पन्न भएको छ । वातावरणीय अध्ययन विपरित नदीको किनारबाट ठुला मेशिन प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् गर्दा नदीले धार परिवर्तन गर्दा दहसंस्कार गर्ने स्थान अभाव भएको स्थानीय सालबास वन उपभोक्ता समितिका उपाध्यक्ष धनबहादुर आलेले बताए ।


बगरलाई नै दहसंस्कार स्थल बनाउँदै आए पनि आयोजनाको काम पछि ठाउँ नै नभएकाले घाटको समस्या परेको स्थानीय काहुँमिलन युवा क्लबका अध्यक्ष आयुष थापाले बताए । व्यवस्थित शवदहस्थल नहुँदा वर्षयाममा शव जलाउन कठिनाइ भएको र दाउरा व्यवस्थापनमा पनि समस्या भएको भनाई उनको भनाइ छ । स्थानीय अगुवा कुशबहादुर थापाले शवदाहस्थल निर्माणका लागि स्थानीय चाँपखोलामा ठाउँ छनोट गरिएको भए पनि काम भने कतैबाट शुरु नभएको बताए ।

समस्या समाधानका लागि स्थानीय प्रभावित बासिन्दाहरुले तनहुँ हाइड्रोपावरसँग ३५ बुँदे मागमा पनि शवदाहस्थलको कुरा समावेश गरेको तर त्यसको सुनुवाइ नभएको ऋषिङ्ग गाउँपालिका वडा नं १ का वडाध्यक्ष श्रीबहादुर आलेले बताए ।

ऋषिङ्ग गाउँपालिकाले शवदाहस्थलका लागि १० लाख रुपैयाँ बजेट छुट्टाइएकोले यसै वर्ष शवदह स्थल निर्माण हुने उनले बताए । आयोजना प्रमुख अच्युतबाबु घिमिरेले स्थानीयले राखेका मागहरु क्रमैसँग पुरा गर्न थालिए पनि शवदाहस्थलका बारेमा भने थाहा नपाएको बताए । हामीले सक्ने मागहरु पुरा गर्दै जान्छौं, उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी