जेसिज सप्ताहान्तमा पराशर आश्रमलाई भजनकीर्तन सामग्री सहयोग

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगरले व्यास ५ पाटनस्थित पराशर ज्येष्ठ नागरिक चौतारी आश्रमलाई भजनकीर्तनका सामग्री सहयोग गरेको छ । जेसिज सप्ताहान्तको शुरुवात गर्दै क्लबले पहिलो दिन वृद्धाश्रमका वृद्धवृद्धालाई भजनकीर्तनका लागि चाहिने स्पिकर, मादललगायतका सामग्री सहयोग गरेको हो ।


आश्रममा आयोजित कार्यक्रममा व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ तथा क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले आश्रमका अध्यक्ष तारानाथ घिमिरेलाई सामग्री हस्तान्तरण गरे । सामग्रीमा एउटा स्पिकर, दुईटा खैंजडी, दुई झुर्मा तथा एउटा मादल छ । ती सामग्री अमेरिका बस्दै आएका दमौलीका मोहन पन्तले सौजन्य प्रदान गरेका हुन् ।


कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले वृद्धाश्रममा युवाहरुले गरेको सहयोगको प्रशंसा गरे । आश्रमका अध्यक्ष तारानाथ घिमिरेले वृद्धवृद्धाहरुको समय कटाउनका लागि प्राप्त सामग्री उपयोगी हुने भन्दै सहयोगप्रति क्लबलाई धन्यवाद प्रकट गरे । क्लबका पूर्व अध्यक्ष सुरेश पुरीले आश्रमका वृद्धवृद्धाका लागि भजनकीर्तनका लागि बाजागाजाको अभाव भएको सुने पछि अमेरिकाबाट मोहन पन्तले सहयोग गरेको जानकारी दिए ।


क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले क्लबले जेसिज सप्ताहान्तका क्रममा आश्रमसहित विभिन्न ठाउँमा सामाजिक सेवा र खेलका कार्यक्रम गर्ने जानकारी दिए ।

कार्यक्रममा जेसिआई व्यास नगरका पूर्व अध्यक्ष पविन्द्र भट्टराई, रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जीवनकुमार श्रेष्ठ, रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष राज श्रेष्ठ, सप्ताहान्तका मुल संयोजक इन्द्रलाल श्रेष्ठ, कार्यक्रम संयोजक अनिल श्रेष्ठ तथा महासचिव गणेश थापाले सहयोगका बारेमा बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्