
तनहुँमा दुई नयाँ संक्रमित
दमौलीः नयाँ पीसीआर परीक्षण नभए पनि पुराना संकलित नमूनाको परीक्षण गर्दा गण्डकी प्रदेशमा कोरोना संक्रमित बढिरहेको पाइएको छ ।
गण्डकी प्रदेशमा मंगलबार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा तनहुँका दुई जना छन् । व्यास १ का ४२ वर्षका पुरुष तथा शुक्लागण्डकीका ७० वर्षका वृद्धमा पनि संक्रमण देखिएको छ ।
मंगलबार सर्वाधिक संक्रमण नवलपुरमा देखिएको छ । नवलपुर क्षेत्रमा एकै साथ ५५ जनामा कोरोना संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । संक्रमित सबै कावासोती नगरपालिकाका छन् ।
कास्कीको पोखरा महानगरमा नौ, वाग्लुङमा पाँच, म्याग्दीमा चार र स्याङजाका तीन जनामा संक्रमण पुष्टि भएको छ ।
दशैं बिदाका कारण पछिल्ला तीन दिन पीसीआर संकलन नभए पनि पुराना संकलित नमूनामा संक्रमित बढेको देखिएको छ । यसले संक्रमण दर बढिरहेको पनि देखाउने जानकार बताउँछन् ।