दमौली : तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सोमबार दिउँसो करिब १२ः०५ बजे चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी करिब ३० वर्षीय चालक सञ्जीव मगर र सोही स्थानका २२ वर्षीय सहचालक प्रदीप विक घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो।प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उपचारका क्रममा चालक मगरलाई दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते सहचालक विकको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको जनाइएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिक प्रहरीसहित १५ जनाको टोली खटिएको थियो।








































