दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। दमौलीमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले व्यवसायीबीच एकता, आपसी सद्भाव र सहकार्य कायम गर्दै व्यवसायलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका थिए। नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मोहनकुमार विकले व्यवसायको हित, एकता र संस्थागत सुदृढीकरणका विषयमा आफ्नो धारणा राखेका थिए। त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य विनोदकुमार विक,
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका प्रसाद घिमिरे, नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान सचिव केशबहादुर सुनार लगाएले शुभकामना मन्तव्य सहित आफ्नो धारणा राखे।
कार्यक्रम संघका अध्यक्ष हरि गहतराजको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको समापन संघका वरिष्ठ उपाध्यक्ष पदम सुनारले गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव पुर्ण बहादुर वि. क.ले गरेका थिए।








































