आफ्नो कपडा बेचेर युवतीले दिए सडक बालबालिकालाई नयाँ कपडा

  • ख-
  • ख+

रोट¥याक्ट वेदव्यासको सराहनीय काम

दमौलीः दमौलीका युवतीले आफ्नो कपडा बेचेरै भए पनि सडक बालबालिकालाई नयाँ लत्ताकपडा दिएर दशैं मनाउन सघाएका छन् । पुराना कपडामा हिंडिरहने बालबालिकालाई दशैंमा नयाँ कपडा फेर्न रकम अभाव भए पछि आफ्नै पुनः प्रयोग गर्न योग्य कपडा बेचेर आएको आम्दानीले रोट¥याक्ट क्लब अफ वेदव्यास दमौलीमा आवद्ध युवतीहरुले बालबालिकालाई नयाँ लत्ताकपडा किनिदिएका हुन् ।


क्लबले चार जना सडक बालबालिकालाई नयाँ कपडा खरिद गरेर दिएको छ । चाडबाडका समयमा नयाँ लुगा लगाउन नपाएका ती बालबालिकालाई क्लबका सदस्यले आफ्ना पुराना कपडा बेचेर संकलित रकमबाट नयाँ कपडा खरिद गरेको क्लबकी अध्यक्ष सन्जु घलेले जानकारी दिइन् ।


क्लबका सदस्यले आफ्ना पुनः प्रयोग गर्न मिल्ने ३२ कपडा काठमाडोंको अनलाईन स्टोरलाई बिक्री गरेर त्यसबाट प्राप्त चार हजार आठ सय रुपैयाँबाट सडक बालबालिकालाई नयाँ लत्ताकपडा खरिद गरेका हुन् ।


नयाँ लुगा लगाउने चाड दशैंमा सबैले नयाँ लुगा लगाउने भए पनि अभिभावकसँग नभएका तथा आर्थिक अवस्था कमजोर भएका ती बालबालिकालाई पनि दशैंको अनुभूति गराउन नयाँ कपडा खरिद गरेर वितरण गरेको अध्यक्ष घलेले जानकारी दिइन् ।

‘दशैंमा सबैले नयाँ लुगा लगाउँछन्,’ उनले भनिन्,‘तर सडक बालबालिका सधैं फोहोर र पुरानो कपडामा हिंडेको देखेकाले उनीहरुका लागि पनि दशैं आएको महसुस गराउन नयाँ कपडा किनिदिएका हौं ।’क्लबले अफरिङ ह्याप्पिनेश अभियानमार्फत यस्तो सहयोग गरेको घलेले बताइन् ।

‘नयाँ कपडा किनिदिने योजना त बन्यो,’ घले भन्छिन्,‘तर किनिदिने पैसा नभए पछि आफ्नै सेकेण्ड ह्याण्ड कपडा बेच्ने योजना बन्यो ।’ उनीहरुले राजधानीको रिफ्ट स्टोर्स नेपालमार्फत कपडा बिक्री गरेर आएको आम्दानी पाए पछि शनिबार नयाँ कपडा खरिद गरेका थिए । युवतीहरुको मात्र संलग्नता रहेको क्लब हालै मात्र दमौलीमा स्थापना भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्