दमौली : करिब चार दशक शिक्षण सेवामा बिताएका तनहुँको व्यास–९ स्थित माहेन्द्री माध्यमिक विद्यालयका शिक्षक एवं पूर्वप्रधानाध्यापक शिवचन्द्र आचार्यलाई विद्यार्थी, शिक्षक तथा अभिभावकले बाजागाजा सहित विदाइ गरेका छन्। अनिवार्य अवकाशमा जान लागेका आचार्यलाई विद्यालय परिवारले शुक्रबार पञ्चेबाजा सहित सम्मान गर्दै उनकै घर रिठ्ठाबोट सम्म पुर्याएको हो।
लामो समय विद्यालय र विद्यार्थीको शैक्षिक उन्नयनमा योगदान पुर्याएका आचार्यलाई विद्यालयले दीर्घ सेवा सम्मानपत्रसमेत प्रदान गरेको थियो। करिब ४१ वर्ष शिक्षण सेवामा बिताएका आचार्यले २०७१ सालदेखि माहेन्द्री माध्यमिक विद्यालयमा निरन्तर सेवा गरेका थिए। उनले २०७९ देखि २०८१ सालसम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए।
विदाइ कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकले आचार्यप्रति सम्मान व्यक्त गर्दै उहाँले विद्यालयको शैक्षिक विकासमा पुर्याएको योगदानको स्मरण गरेका थिए।
विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा नृत्य प्रस्तुत गर्दै शिक्षक आचार्यप्रतिको सम्मान र आत्मीयता व्यक्त गरेका थिए। कार्यक्रममा व्यास–९ का वडाध्यक्ष सुरेश थापा लगायतले आचार्यको लामो शिक्षण यात्राको प्रशंसा गर्दै आगामी अवकाश जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। विदाइका क्रममा पञ्चेबाजाको धुनसँगै विद्यार्थी, शिक्षक र अभिभावकले आचार्यलाई घरसम्म पुर्याएका थिए।
विद्यालयमा बिताएका वर्षहरूको सम्झना र आत्मीयतासहित गरिएको यो विदाइले शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक पक्षसमेत झल्काएको थियो।






