काठमाडौंः नेपाली कांग्रेसको मध्यपूर्वतर्फको केन्द्रीय सदस्यमा जनसम्पर्क समिति साउदी अरबका संस्थापक पुरुषोत्तम खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
साउदी अरेबियामा जनसम्पर्क समिति स्थापनामा भूमिका खेलेका खनाल विगतमा महासमिति सदस्य रहिसकेका छन् । हाल जनसम्पर्क समिति साउदी अरेबियाका प्रमुख संरक्षक रहेका उनी महामन्त्री प्रदीप पौडेलनिकट मानिन्छन् ।
नेविसंघदेखि नै पार्टी राजनीतिमा सक्रिय रहिआएका उनले मध्यपूर्वका विभिन्न देशमा जनसम्पर्कका गतिविधि विस्तार तथा पार्टी संगठनमा स्वदेश तथा विदेशमा सक्रितापूर्वक भूमिका खेल्दै आएका छन् ।
उनले विगतका निर्वाचनहरुमा कांग्रेस उम्मेदवारका पक्षमा देश तथा विदेशमा माहोल बनाउन समेत भूमिका खेल्दै आएका छन् ।
मध्यपूर्वतर्फको क्लस्टरबाट केन्द्रीय सदस्यमा आकांक्षा देखाएका खनालले जनसम्पर्क समितिहरुका गतिविधिलाई सक्रिय बनाएर पार्टीलाई सबल बनाउने उद्देश्य राखेको बताए ।
‘बदलिएको परिस्थितीमा नेपाली कांग्रेससामु चुनौती थपिएको छ,’ उनले भने, ‘यस्तोमा बलियो सम्भावना बोकेको मध्यपूर्वमा संगठनलाई बलियो पार्न मेरो भूमिका हुनेछ ।’






