दमौली: अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतमा पानी बस्तीमा पस्दा १३ वटा घर प्रभावित भएका छन् । बुधबार राति करिब २ बजे ताकुडाँडाको खोल्सीबाट आएको बाढी पानीको बहाव बढेपछि स्थानीयवासीका घरमा बाढी पसेको हो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।
प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । हाल बाढीको पानी पूर्ण रूपमा घटिसकेको छ । बाढीबाट प्रभावित घरमध्ये कुलप्रसाद पन्थीको दुईतले पक्की घर, हर्कबहादुर पुनको एकतले पक्की घर, मिना सुवेदीको दुईतले पक्की घर तथा अन्य १० वटा एकतले कच्ची घर रहेका छन् ।
उनका अनुसार ४५ वर्षीय कुलप्रसाद पन्थी दुईतले पक्की घर, २७ वर्षीय टिका पुन एकतले कच्ची घर, ६८ वर्षीय हर्कबहादुर पुन एकतले पक्की घर, ७२ वर्षीय तिलकुमारी पुनको एकतले कच्ची घर, ५० वर्षीय खिलबहादुर पुनको एकतले कच्ची घर, ८७ वर्षीय कलिमाया पन्थीको एकतले कच्ची घर, ५० वर्षीय नममाया तिलिजा पुनको एकतले कच्ची घर , ५० वर्षीय शंकर विकको एकतले कच्ची घर, ६० वर्षीय नरबहादुर विकको एकतले कच्ची घर, ४० वर्षीय लुककुमारी पुनको एकतले कच्ची घर, ७५ वर्षीय दुरुपती पौडेल एकतले कच्ची घर, ४५ वर्षीय खेमबहादुर विकको एकतले कच्ची घर, ३७ वर्षीय मिना सुवेदीको दुईतले पक्की घरमा पानी पसेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक समन्वय गरेको छ भने अहिले सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।





