दमौली: तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक आइतबार बिहान आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का करिब २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए। प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याएकोमा उपचारकै क्रममा बिहान ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा सहचालकको घुँडामा सामान्य चोट लागेको छ। सडकमा पल्टिएको ट्रक घटनास्थलमै रहेको र दुर्घटनाका कारण राजमार्गमा यातायात अवरुद्ध नभएको पनि प्रहरीले जनाएको छ।





