दमौली: गण्डकी प्रदेशमै पहिलोपटक तनहुँको भानु नगरपालिकाले भूमि तथा जग्गा प्रशासन सम्बन्धी सेवा सञ्चालनमा सुरु गरेको छ। भानु नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भर्चुअल माध्यमबाट भूमि तथा जग्गा प्रशासन सेवाको शुभारम्भ गरिएको हो।
स्थानीय तहबाटै जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए। यससँगै जग्गासम्बन्धी विभिन्न प्रशासनिक कामका लागि सेवाग्राहीले टाढाका कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तहबाट नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले प्रविधिको प्रयोग र प्रशासनिक सेवाको विकेन्द्रीकरणमार्फत नागरिकले आफ्नै स्थानीय तहबाट सरकारी सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिईएको छ ।





