
सबैमा न्युमोनियाको समस्या
पोखराः गण्डकी प्रदेशमा दुई दिनको अवधिमा चार जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउने चारै जना पोखराका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार विहान सार्वजनिक गरेको विवरणमा शुक्रबार एक र शनिबार तीन जनाको ज्यान गएको उल्लेख गरेको छ । योसँगै प्रदेशमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।
मुख्य समस्या न्युमोनिया
कास्की, पोखरा महानगरपालिका १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ७ः४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको निर्देशनालयले उल्लेख गरेको छ । उनमा कोभिड १९ सहित न्यूमोनियाको समस्या रहेको बताइएको छ ।
यसैगरी, कास्की जिल्ला, पोखरा महानगरपालिका २२ का ६८ बर्षीय वृद्धको शनिबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड(१९ सहित न्यूमोनियाको समस्या उनमा रहेको निर्देशनालयको विज्ञप्तिमा छ ।
कास्कीकै पोखरा महानगरपालिका ३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसीयुमा उपचारका क्रममा निधन भएको निर्देशनालयको विज्ञप्तिमा छ । कोभिड(१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या उनमा रहेको निर्देशनालयको भनाई छ ।
कास्कीकै पोखरा महानगरपालिका १५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको शनिबार राति उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसीयुमा निधन भएको निर्देशनालयले जनाएको छ । उनमा पनि न्यूमोनियासहितका स्वास्थ्य समस्या रहेको निर्देशनालयको भनाई छ । मृतक सबैको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।