नारायणगढ: चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरुषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो। शव भेटिएको स्थाननजिकै बाघ पनि रहेकाले हात्ती प्रयोग गरी बाघ धपाएर शव नियन्त्रणमा लिने काम भइरहेको पनि उहाँले बताउनुभयो।
मृतकको पहिचान हुन बाँकी छ। यद्यपि भरतपुर महानगरपालिका-२८, जितपुर निवासी ६१ वर्षीय मगले बोटे सम्पर्कमा नरहेको स्थानीयले जनाएका छन्। उहाँ सोही हरियाली सामुदायिक वनमा घाँस काट्न जानुभएको बताइएको छ।
वनमा घाँस काट्न गएका बोटेलाई बाघले आक्रमण गरेको हुन सक्ने अनुमान संरक्षणकर्मीहरूको छ। अहिले खोजी तथा उद्धारका लागि हात्तीसहितको प्राविधिक टोली परिचालन गरिएको छ।
हाल टोलीले बाघको सम्भावित जोखिमबाट मानिसहरूलाई सुरक्षित दूरीमा राख्दै घटनास्थलको पहिचान तथा सनाखत गर्ने काम गरिरहेको छ। साभारः गोरखापत्र





