राखेपले राष्ट्रियस्तरको बास्केट बल दमौलीमा खेलाउने (तस्बिरहरुसहित)

  • ख-
  • ख+

दमौलीः निर्मल माविमा राष्ट्रियस्तरको बास्केट कोर्ट तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद र निर्मल माविको लागत सहभागीतामा विद्यालय परिसरमा निर्माण थालिएको महिला र पुरुषको बास्केट बल कोर्ट तयार भएको हो ।


४३ लाख ७२ हजार रुपैयाँको लागतमा मैदान तयार भएको मैदानमा अब राष्ट्रियस्तरको पुरुष र महिलातर्फका बास्केट बल खेल खेलाउन सकिनेछ । राखेपको मापदण्डअनुसार उसैको लागतमा निर्मित मैदानमा विद्यालयले पनि साझेदारी गरेको विद्यालयको भनाई छ ।


जेठबाट निर्माण शुरु भएको मैदान हालै मात्र सकिएको हो । मैदान राष्ट्रिय खेलकुदका क्रममा क्षेत्रीय तथा राष्ट्रियस्तरमा हुने प्रतियोगिता खेलाउनका लागि निर्माण गरिए पनि विद्यालय र यस क्षेत्रमा हुने प्रतियोगिताका लागि पनि विद्यालयले उपयोग गर्न सक्ने विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए ।

निर्मल माविमा तयार बास्केट बल कोर्ट

‘भोली ठूलास्तरका प्रतियोगिता राखेपले आयोजना गर्दा विद्यालयमा पनि खेलाउने गरी कोर्ट तयार भएको छ,’ उनले भने,‘यस क्षेत्रमा हुने अरु प्रतियोगिता पनि अब विद्यालयमै गर्न सकिन्छ ।’


कोर्टमा अरु प्रकारका खेल समेत खेल खेलाउन मिल्ने गरी तयारी गरिएको उनले जानकारी दिए । ‘कोर्ट ठूलो र स्तरीय भएकाले बास्केटबल सहितका अरु प्रतियोगिता पनि गर्न सकिन्छ,’ उनले भने । पढाईका लागि असर नपर्ने भएमा यस क्षेत्रमा हुने स्थानीयस्तरका प्रतियोगिताका लागि पनि मैदान दिन सकिने विद्यालयले जनाएको छ । ‘पढाई नभएका बेला तयार कोर्ट अरु प्रतियोगिताका लागि पनि दिने योजना छ,’ उनले भने ।


फराकिलो मैदान र क्षेत्रफल भएको विद्यालयमा राष्ट्रियस्तरको पौडी पोखरी पनि बनाउने योजना तयार पारिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी