चीनसँग उच्चस्तरीय भेटवार्ताको अडानमा रास्वपा, रविको भ्रमण अनिश्चित

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण चिनियाँ पक्षको पहलमा स्थगित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र रास्वपाबीच भ्रमण मिति, भेटघाटको कार्यसूची लगायतका विषयमा अझै टुङ्गो लाग्न सकेको छैन । स्रोतका अनुसार लामिछानेले चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुनुपर्ने अडान राखेका छन् ।

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाको चीन भ्रमण अन्योलमा परेको छ । चिनियाँ पक्षको पहलमा लामिछाने साउनको अन्तिम वा भदौको पहिलो साता चीन भ्रमणमा जानेगरी पार्टीले तयारी थालेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी र रास्वपा दुवै पक्षको पहलमा भ्रमण मिति तय गरिने भनिए पनि अहिलेसम्म टुङ्गो नलागेको महामन्त्री विपिन कुमार आचार्यले जनकारी दिए । सभापति लामिछाने र महामन्त्री आचार्यबिच बिहीबार छलफल भएको थियो । पार्टीको तर्फबाट उच्चस्तरीय भ्रमणका लागि को–को सहभागी हुने ? भ्रमण कति दिनको हुने ? को–कोसँग भेटवार्ता गर्ने लगायतका विषयमा टुङ्गो नलागेको आचार्यले जानकारी दिए ।

‘सभापतिको चीन भ्रमणको विषयमा दुवै पक्षबिच छलफल भइराखेको छ, तर भ्रमणको मिति, भेटघाटको कार्यसूची तय भएको छैन । यी सबै कुरा सुनिश्चित भएपछि जानकारी गराउँला नि’, रातोपाटीसँग उनले भने । रास्वपा विदेश विभागका पूर्वप्रमुख तथा परराष्ट्रमन्त्री शिशिर खनालले पनि लामिछानेको चीन भ्रमणको आधिकारिक सूचना नआएको जानकारी दिए । उता चिनियाँ पक्षले पनि लामिछानेको चीन भ्रमणको विषयमा पहल भइराखेकाले दुवै पार्टीको समन्वयमा मिति तय हुने जानकारी दिएको छ । गत वर्ष जेनजी आन्दोलनपश्चात् फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत ल्याएर सरकार बनाएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको वातावरण बिग्रिएपछि सभापति लामिछानेले जेठ (१८–२२सम्म) भारतको भ्रमण गरेका थिए ।

लामिछानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस.जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गरेको थियो । स्रोतका अनुसार लामिछानेले चीन भ्रमणको क्रममा राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता हुनुपर्ने अडान राखेका छन् । भारतसँग उच्चस्तरीय भ्रमण भएकाले चीनसँग पनि त्यही स्तरको भ्रमण हुनुर्नेमा उनको प्रस्ताव छ । यस विषयमा एउटा छिमेकी मुलुकसँग उच्चस्तरीय छलफल भएपछि अर्को छिमेकी मुलुकसँग पनि सोही स्तरको भ्रमणको अपेक्षा राख्नु स्वाभाविक भएको महामन्त्री आचार्यको तर्क छ ।

‘रुलिङ पार्टीको सभापति भएकाले उच्चस्तरीय भ्रमणको अपेक्षा राख्नु स्वाभाविक हो । भारतमा उच्चस्तरीय भेटवार्ता गरेर आएका छौँ । सोही स्तरको भ्रमण चीनमा पनि होस् भन्ने पार्टीको अपेक्षा छ’, आचार्यले भने । यद्यपि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव पनि रहेका राष्ट्रपति सीले पार्टी प्रमुखको हैसियतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अन्य नेपाली नेतासँग भेट गरेका छैनन् ।
साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी