विराटनगर : सुनसरीको कप्तानगन्ज घटनामा ज्यान गुमाएका दुई युवकको शव पाँचौं दिन शुक्रबार आफन्तले बुझेर अन्त्येष्टि गरेका छन्।
गृह मन्त्रालयसँगको ७ बुँदे सहमतिपछि आफन्तहरू शव बुझ्न तयार भएका हुन्।
गत आइतबार राति स्थानीय दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचार क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।
घटनामा गोली लागेर घाइते भएका अन्य ६ जनाको विराटनगरका विभिन्न अस्पतालमा र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ।
गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा बिहीबार रातभर भएको वार्तापछि शुक्रबार बिहान ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार मृतकका परिवारलाई जनही १०–१० लाख रूपैयाँ राहत उपलब्ध गराइने, मृतकलाई सहिद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने, परिवारका एक सदस्यलाई रोजगार दिने र उनीहरूको स्मृतिमा पार्क निर्माण गर्ने उल्लेख छ।
बिहान सहमति भए पनि दिउँसो केही स्थानीयले ‘उधारो सहमति’ भन्दै शव बुझ्न अस्वीकार गरेपछि केही समय अन्योल सिर्जना भएको थियो। पछि स्थानीय प्रशासनले गृहमन्त्री स्वयंको रोहवरमा भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाएपछि कोशी अस्पतालमा पोस्टमर्टम गरिएका शव आफन्तले बुझेर दाहसंस्कार गरेका हुन्।





