गुणस्तरीय उत्पादन सहित तनहुँमा डेरी मार्ट सञ्चालन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले स्थानीय दुग्ध उत्पादक किसानको उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने तथा उपभोक्तालाई ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले व्यास नगरपालिका–४ हरिओम टोलमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। डेरी मार्ट सञ्चालनसँगै जिल्लामा उत्पादन हुने दूध तथा दुग्धजन्य वस्तुको बजारीकरणमा थप टेवा पुग्ने अपेक्षा सहित मार्ट सञ्चालन गरीएको हो।

आज आयोजित उद्घाटन कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मरबहादुर कुँवर र व्यास नगरपालिका–४ का वडा अध्यक्ष मानबहादुर गुरुङले संयुक्त रूपमा रिबन काटेर डेरी मार्टको औपचारिक उद्घाटन गरेका
थिए। कार्यक्रममा वक्ताहरूले स्थानीय उत्पादनको प्रवर्द्धन, दुग्ध व्यवसायको सुदृढीकरण र सहकारीमार्फत कृषकको आयवृद्धिमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

संघका अनुसार डेरी मार्ट सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले ताजा, स्वच्छ तथा गुणस्तरीय दुग्ध र दुग्धजन्य उत्पादन एकै स्थानबाट सहज रूपमा खरिद गर्न सक्नेछन्। यसले दुग्ध उत्पादक किसानको उत्पादनको उचित बजार व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

डेरी मार्ट उद्घाटन कार्यक्रममा सहकारीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, दुग्ध उत्पादक किसान तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहकारीले आगामी दिनमात्रै सेवा विस्तार गर्दै स्थानीय दुग्ध उत्पादनको बजारीकरणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्