दमौली: नेपालमा हालै आएको बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि तनहूँ समाज युकेले सङ्कलन गरेको रु १० लाख १ सय ९५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमका बीच समाजकी उपाध्यक्ष निर्मला थापाले संघीय अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत हस्तान्तरण गरेकी छन् । सो जानकारी समाजका महासचिव महेन्द्र आलेले दिएका हुन् ।
उक्त अवसरमा अर्थमन्त्री वाग्लेले आर्थिक सहयोग प्रदान गर्ने तनहूँ समाज युकेको सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गरे । यसैगरी मातृभूमि नेपाललाई अप्ठ्यारो परेको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरू प्रति समाजका अध्यक्ष सन्त गुरुङले आभार व्यक्त गरेका थिए।
बाढी–पहिरोमा परी अकालमा ज्यान गुमाउनु भएका सबै प्रति तनहुँ समाज युके परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ। साथै विस्थापित तथा प्रभावित परिवार प्रति हार्दिक सहानुभूति प्रकट गरिएको छ ।





