पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारू

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेनंको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड  सुचारु भएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठुला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।

शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

अवरोध खुलाउन सडक योजनाका तर्फबाट रातिदेखि नै एक्स्काभेटर, लोडर र टिपर जस्ता आवश्यक मेशिन तथा उपकरणहरू परिचालन गरिएको थियो ।

निरन्तरको प्रयासपछि आइतबार बिहान ११ः ०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छ्याउन प्राविधिक टोली सफल भएको जनाएको छ । हाल नारायणगढदेखि काठमाडौँसम्मको सम्पूर्ण सडक खण्ड सामान्य अवस्थामा सञ्चालनमा आइसकेको योजना कार्यालयले जनाएको छ ।

सडक योजना कार्यालयले प्रतिकूल मौसम र सडक अवरोधका बिच पनि धैर्यतापूर्वक लेन अनुशासन कायम राखी सहयोग पुर्याउने यात्रु तथा सवारी चालकहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, वर्षातको समय भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यात्रा गर्नुअघि सडकको अवस्थाबारे राम्रोसँग बुझेर मात्र यात्रा तय गर्न सडक प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्