धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्नो पार्टीका मन्त्रीहरूलाई पदबाट बरर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बजेट पुनर्लेखन नभएसम्म पारितका लागि सरकारलाई साथ नदिने एमालेको अडान थियो । आगामी आर्थिक वर्षको बजेट पास नहुने अवस्था सृजना भएपछि मुख्यमन्त्रीले एमालेका चार जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहमतिका लागि भएका प्रयासलाई बेवास्ता गरेर मुख्यमन्त्री एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले मुख्यमन्त्री शाहले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउनुभयो । एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । साभारः गोरखापत्र





