दमौली: २१३औँ भानु जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम मार्फत आदिकवि भानुभक्त आचार्यलाई स्मरण गरिरहेकै सन्दर्भमा भानु जन्मस्थल विकास समिति र भानु नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरिरहेको हो । असार २९ गते पर्ने भानु जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदीँमा असार २७, २८ र २९ गते विविध कार्यक्रम आयोजना गरिएको थियो ।
असार २८ गते आइतबार कविता वाचन र रामायणवाचन प्रतियोगिता गरीएको थियो। कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम भएकी छन् । अधिकारीले नगद रु २० हजार पुरस्कार प्राप्त गरेकी छन्। प्रतियोगितामा सन्चिता शर्मा द्वितीय, राममाया श्रेष्ठ तृतीय र दयाराम पौडेल सान्त्वना भएका छन् । उनीहरूले नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरेका छन्।
त्यसैगरी रामायण वाचन प्रतियोगितातर्फ पुनम सुनार प्रथम भएकी छन् सुनारले नगद रु १५हजार पुरस्कार प्राप्त गरेकी छन् । रामायण वाचन प्रतियोगितातर्फ सुजता पौडेल द्वितीय, सरस्वती डौलीया तृतीय र अवानी काफ्ले सान्त्वना भएका छन्। उनीहरूले नगद १० हजार, ५ हजार र २ हजार प्राप्त गरेका छन्। सो पुरस्कार असार २९ गते भानु जयन्तीका दिन आयोजित विशेष कार्यक्रममा प्रदान गरिने बताइएको छ।





