दमौली: महिला उद्यमीहरूको सीप प्रदर्शन र प्रवर्द्धन एवं सीपलाई व्यवसायसँग जोड्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल तनहुँले दमौलीमा मेहेन्दी कला एवं सौन्दर्य सीप प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । संघले इनरह्वील क्लब अफ दमौली तनहुँसँगको सहकार्यमा र तनहुँ सौन्दर्य व्यवसायी संघको सहजीकरणमा यहि असार ३० गते दमौलीको अनसन चौतारीमा कार्यक्रम गर्ने भएको हो ।
आयोजकका अनुसार कार्यक्रम केवल सौन्दर्य प्रदर्शनमा सीमित नरही मेहेन्दी कला, मेकअप, हेयर डिजाइन, नेल आर्ट तथा अन्य सौन्दर्यसम्बन्धी सीपलाई प्रत्यक्ष प्रदर्शन गरिनेछ भने महिला उद्यमीद्वारा उत्पादित वस्तुको समेत प्रदर्शनी एवं प्रवर्द्धन गरिनेछ। कार्यक्रममा विभिन्न स्टलमार्फत मेहेन्दी र सौन्दर्य सेवाका नयाँ प्रविधि तथा शैली प्रस्तुत गरिनेछ भने सहभागीहरूले प्रत्यक्ष अवलोकन मात्र होइन, व्यवसाय विस्तारका अनुभव आदानप्रदान गर्ने अवसर पनि पाउने आयोजक संस्था महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन्।
महिला उद्यमीको सीपको प्रदर्शनी र प्रवर्द्धनका लागि आयोजित यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने इनरह्वील क्लब अफ दमौली तनहुँकी अध्यक्ष सविता श्रेष्ठले बताइन् । दमौलीमा हुन लागेको सीप प्रदर्शनीलाई सौन्दर्यकला र महिला उद्यमशीलताको संयुक्त उत्सवका रूपमा लिइएको तनहुँ सौन्दर्य व्यवसायी संघको अध्यक्ष विष्णु थापाले बताइन्। आयोजकले जिल्लावासीलाई कार्यक्रममा सहभागी भई महिला उद्यमीको प्रयासलाई उत्साह दिन आग्रह गरेको छ।





