दमाैली : बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई प्रभावकारी बनाउन तनहुँमा जिल्ला स्तरीय अनुगमन समितिको बैठक बसेको छ। जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख एवं जिल्ला स्तरीय अनुगमन समितिका संयाेजक वासुदेव थापाको संयोजकत्वमा शुक्रबार बसेको बैठकले म्याग्दे गाउँ पालिका वडा नं . ३ लाई आगामी ३२ गते बालमैत्री वडा घाेषणा गरिने भएकाे हाे ।
बैठकले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ बमोजिम जिल्लाभरको प्रगति समीक्षा गरेको थियो। स्थानीय तहहरूमा बालमैत्री शासनका सूचकहरूको कार्यान्वयन अवस्था बारे छलफल गरेको र आगामी दिनमा अनुगमनलाई थप कडाइ गर्ने निर्णय गरेको बताइएको छ।
कार्यक्रममा बोल्दै संयोजक थापाले बालबालिकाको हकहित संरक्षण र प्रवर्द्धनका लागि सबै स्थानीय तह, विद्यालय र समुदायको सहकार्य आवश्यक रहेको बताए। उनले बालविवाह, बालश्रम र बालहिंसा अन्त्यका लागि जिल्लाभर सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०६९ बमोजिम म्याग्दे गा.पा. ३ नं. वडा समिति तथा म्याग्दे गाउँ कार्यपालिकाको बैठक निर्णय अनुसार जिल्ला समिति समक्ष बालमैत्री स्थानीय शासन उक्त वडा घोषणाको लागि अनुमति मागी अनुरोध भई आएको हुँदा उक्त बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०६९ अनुसार उक्त वडामा ५१ वटा सूचकमध्ये ४९ वटा सूचक पुरा गरेको र तोकिएको ८०% भन्दा बढी अंक प्राप्त गरेकोमा घोषणा गर्नको लागि अनुमति दिन सकिने व्यवस्था भएको हुँदा सोही बमोजिम म्याग्दे गाउँपालिका, ३ नं. वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाको लागि सिफारिस सहित अनुमति प्रदान गर्ने निर्णय गरिएकाे थियाे ।
बैठकले म्याग्दे गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गर्न अनुमति प्रदान गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने निर्णय गरेको छ। बालमैत्री वडा घोषणा भएपछि बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितामा थप सुधार हुने अपेक्षा गरिएकाे छ । जिल्ला स्तरीय अनुगमन समितिको बैठक जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख वासुदेव थापाकाे संयोजकत्वमा भएकाे
थियो ।
बैठकमा म्याग्दे गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , जिल्ला समन्वय अधिकारी शिव प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, म्याग्दे गापाका सामाजिक विकास समितिका संयाेजक एवं वडा नं ३ का अध्यक्ष टुकराज अधिकारी , शिक्षा इकाई प्रमुख ,प्रहरी सहायक निरीक्षक दिपा खत्री, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ जनस्वास्थ्य अधिकृत विभुषा थापा, शाखा अधिकृत जि.स.स. तनहुँका शाखा अधिकृत रामचन्द्र ढकाल लगाएतकाे उपस्थिति रहेको म्याग्दे गाउँ पालिकाका सुचना अधिकारी श्रीराम खनालले जानकारी दिए ।





