लमजुङ: लमजुङको मध्यनेपाल नगरपालिकास्थित सार्वजनिक जंगलमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका पाँच थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। घटनाले जिल्लामा अवैध हतियारको प्रयोग र ओसारपसारबारे सुरक्षा निकायको चासो बढाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले मध्यनेपाल नगरपालिका–६/९ स्थित भोर्लेटार नजिकै लामासोती पाखोको काँडेपानी क्षेत्रमा रहेको सार्वजनिक जंगलमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका पाँच थान एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
बरामद गरिएका सबै बन्दुक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार उक्त बन्दुक कसले, कहिले र के उद्देश्यले जंगलमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान तीव्र बनाइएको छ। घटनासँग सम्बन्धित व्यक्ति तथा सम्भावित संलग्नताको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।





