दुलेगौँडा : तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हिलेटारको मोटरेवल पुल भन्दा तल सेती नदीमा फेला परेको शवको पहिचान खुलेको छ । नदि किनारमा विहिबार विहान मृत अवस्थामा फेला परेको महिलाको शव शुक्लागण्डकी नगरपालिका वडा नं ९ लामिस्वारा निवासी ५० बर्षीकी टिकामाया कामी रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।
नदीको पारि पट्टीको किनारमा रहेका स्थानीयहरुका अनुसार ति महिला खोलाको किनारमा ब्याग राखेर खोलामा पसेकी थिइन् । नदीमा डुबेको केही समयमा नै टिकामायाको मृत्यु भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । नदीमा पानीको बहाव बढी रहेको अवस्थामा उनी उद्धारको प्रयास गर्न मानिसहरु पुग्न नपाउदै मृतअवस्थाका पुगेकी थिइन् ।
पाँच दिन अघि पातीस्वारा माइत आएकी टिकामाया के कारणले नदीमा प्रवेश गरेकी थिइनभन्ने बारे अनुसन्धान भईरहेको इप्रका बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनको शव नदीबाट निकालेर जिपि कोइरालाले राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा राखिएको छ । मृत महिलाको श्रीमान सहित एक छोरा र एक छोरी रहेका छन् ।





