फागुन सम्म थपियो मुग्लिङ-पोखरा पश्चिम सडक खण्डको म्याद

दमौली न्युज
  • ख-
  • ख+

दमौली: पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुग्लिङ-पोखरा सडकको पश्चिम खण्ड (जामुने-पोखरा) निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुन सम्म थपिएको छ। मुग्लिङ पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर सहनशीला कायस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद २०८३ फागुन ११ गतेसम्मका लागि थप गरिएको छ।

मुख्य सडकको चार लेन कालोपत्रे कार्य सम्पन्न भइसके पनि सेवामार्ग (सर्भिस लेन), पैदलमार्ग, नाली, सडक सुरक्षासम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधार निर्माणका काम बाँकी रहेकाले म्याद थप गर्नु परेको उनले जानकारी दिए।

यो सडकखण्डको ३९ किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सडकको चार लेन कालोपत्रे सम्पन्न भइसकेको छ । यससँगै विजयपुर क्षेत्रसहित सम्पूर्ण खण्डमा चार लेन सडक सञ्चालनमा आइसकेको छ भने १२ वटै पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

थपिएको समयमा आयोजनाले सेवामार्ग, पैदलमार्ग, नाली व्यवस्थापन, सडक सुरक्षासम्बन्धी संरचना तथा सहरी क्षेत्रका अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरी बजार तथा घना बस्ती भएका क्षेत्रमा पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न पैदलमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

चीनको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति ७३.५११ प्रतिशत र वित्तीय प्रगति ६५.७६ प्रतिशत पुगेको इन्जिनियर कायस्थले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्