दमौलीको फूलपाती बढाईंः परम्परा जोगाउने प्रयास (तस्बिर र भिडियोसहित )

  • ख-
  • ख+

दमौलीः विगतको परम्पराभन्दा फरक ढंगले दमौलीमा यसपाली फूलपाती बढाईं गरिएको छ । नेपाली सेना तथा प्रहरी अनि तनहुँ कालिका सहिद शान्ति पार्क व्यवस्थापन समितिका पदाधिकारीहरुको सानो संख्याबीच दमौलीमा फूलपाती यात्रा तथा बढाईं गरियो ।


विगतमा यस्तो कार्यक्रममा राजनीतिकर्मी, जनप्रनिनिधि, सर्वसाधारण आदि सहभागी हुने भए पनि यसपाली भने सानो संख्याले मात्र यसमा सहभागीता जनायो ।
नेपाली सेनाको कालिभञ्जन गणबाट फूलपाती लिएर आएका सैनिक तथा जिल्ला प्रहरी कार्यालय तनहुँबाट निस्किएको नेपाल प्रहरीको दुईवटा डोलीले सफासडक हुँदै बेलचौतारामा फूलपाती पूजा तथा बढाईं गरे पछि तनहुँ कालिका मन्दिरमा पुगेको थियो ।

तनहुँ कालिका मन्दिरमा पूजापश्चात फूलपाती लगिंदै ।
तस्बिरः दमौली न्यूज


त्यसपश्चात मन्दिरमा फूलपातीको पूजा गरिएको थियो । त्यसक्रममा नेपाली सेनाले तोप पड्काएर सलामी अर्पण गरेको थियो ।
फूलपाती परम्परा नरोक्ने हिसाबले मात्र कार्यक्रम गरिएको तनहुँ कालिका शहिद शान्ति पार्क व्यवस्थापन समितिका उपाध्यक्ष एवं पूजा समितिका संयोजक माधवबहादुर पन्तले बताए ।


२०६२ सालमा तनहुँसुरको खड्ग देवी ल्याएर स्थापना गरेयता तनहुँ कालिका मन्दिरमा हरेक वर्ष फूलपाती पूजा गरिन्छ । बडा दशैं र चैते दशैंमा विशेष पूजा हुने मन्दिरको भवन हालै निर्माण सम्पन्न भएको छ । दुई करोड ६२ लाखमा मन्दिर निर्माण भएको बताइन्छ । मन्दिर नजिकै दुईवटा पिकनिक स्पट तयार पारिएको छ भने थप पूर्वाधार बनाउने योजना रहेको मन्दिरका पूर्व कोषाध्यक्ष एवं भूमि आयोगका सदस्य एकबहादुृर रानाको भनाई छ ।


मन्दिरलाई देशका एक सय प्रमुख गन्तव्यमा पनि सरकारले पारेको थियो । व्यास नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमध्येमा पर्ने मन्दिर यस क्षेत्रकै शोभा बनेको व्यास ४ का वडाध्यक्ष विश्वराज न्यौपानेको भनाई छ । मन्दिरको पूर्वाधार विकासमा अझ धेरै काम हुन सके यसले गैंडाकोटको मौलाकालिका भन्दा राम्रो पर्यटक भित्र्याउन सक्ने उनी बताउँछन् ।


तनहुँसुरको खड्ग स्थापना गरेयता मन्दिरलाई तनहुँ कालिका भन्न थालिएको हो । यसको साईनो तनहुँसुरसँग जोडिएको छ । यस वर्ष पातलो संख्यामा पूजा गरिए पनि तनहुँ कालिका मन्दिरमा आगामी वर्ष भने कोभिड संकट अन्त्य हुने र विगतका वर्षमा जस्तै भव्य पूजागर्न सकिने अपेक्षा मन्दिर व्यवस्थापनको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्