रौतहट : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुम्बासीका समस्या प्रति अनुदार बनेको आरोप लगाएका छन्। २३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले सरकारले बजेटमार्फत किसानका समस्या समाधानका लागि ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले सरकार विपन्न तथा किसानको सहयोगी बन्नुपर्नेमा उल्टै बाधक बनेको टिप्पणी गरे। तराई क्षेत्रलाई देशको कृषि उत्पादनको प्रमुख आधारभूमि उल्लेख गर्दै उनले किसानहरूले अथक मेहनतका बाबजुद समयमा रासायनिक मल तथा गुणस्तरीय बीउबिजनको अभावका कारण अपेक्षित उत्पादन गर्न नसकेको बताए।
राज्यले किसानका वास्तविक समस्यालाई प्राथमिकतामा नराख्दा समग्र कृषि क्षेत्र संकटतर्फ उन्मुख भएको उनको भनाइ थियो। महामन्त्री पौडेलले जलवायु परिवर्तनको असरसमेत कृषिमा गम्भीर रूपमा देखिन थालेको उल्लेख गर्दै किसानलाई संरक्षण र प्रोत्साहन गर्ने प्रभावकारी नीति आवश्यक रहेको बताए।
कार्यक्रमका क्रममा उनले नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारका कामको आत्मसमीक्षा गर्दै किसानका पक्षमा विभिन्न काम भए पनि अपेक्षाअनुसार तीव्र गतिमा समस्या समाधान गर्न नसकिएको स्वीकार गरे। उनले किसान दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दै आगामी दिनमा कृषि क्षेत्रको विकास र किसानको हितका लागि थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी मधेशका मुद्दामा पार्टीले अपेक्षाअनुसार आक्रामक भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने वाचा पनि गरे। कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको जीवनस्तर उकास्न परम्परागत शैलीभन्दा माथि उठेर ठोस नीति र कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेसले यस दिशामा स्पष्ट योजना अघि बढाउने बताए।





