भानु: भानु नगरपालिकाको कृषि विकास प्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यले नगर उपप्रमुखबाट वडा तथा नगरस्तरीय कृषि सञ्जालहरूलाई कार्यालय सञ्चालनका लागि आवश्यक कार्यालय सामग्री हस्तान्तरण गरिएको छ।
कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रका समस्या तथा आवश्यकताहरूको प्रभावकारी सम्बोधन, साथै कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले गठन भएका कृषि सञ्जालहरूको संस्थागत विकासमा टेवा पुर्याउने हेतुले उक्त सामग्री उपलब्ध गराइएको हो।
हस्तान्तरण गरिएका सामग्रीहरूले सञ्जालको दैनिक प्रशासनिक कार्य सञ्चालन, अभिलेख व्यवस्थापन, बैठक तथा कार्यक्रम सञ्चालन, सूचना आदानप्रदान तथा योजना तर्जुमा लगायतका कार्यहरूलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अवसरमा कृषि सञ्जाललाई कृषक र स्थानीय सरकारबीचको प्रभावकारी रूपमा स्थापित गर्दै कृषि क्षेत्रको समग्र विकास, व्यवसायीकरण तथा आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। भानु नगरपालिका कृषकमैत्री कार्यक्रम तथा नीतिहरूमार्फत कृषि क्षेत्रको दिगो विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।





