दमौली: तनहुँको भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोटको थुम्कामा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कोटदेउराली क्षेत्रमा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ। बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा स्तम्भको उद्घाटन तथा शिलान्यास गरिएको हो।
समाजसेवी समितिका अध्यक्ष शेरजङ्ग अधिकारीको नेतृत्वमा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथि तथा वडा नं. १२ का अध्यक्ष वेलबहादुर अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगर सदस्य शान्ता मिजार, नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रममा बयापानी गाउँका आमा समूह, बाबा समूह तथा घलेछाप, कवाजित, छ्हरे, आहाले, ओख्ले, सिरुबारी र कोटगाउँलगायतका स्थानका स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोटदेउराली क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै राष्ट्रिय झण्डा स्तम्भले पर्यटन प्रवर्द्धनसँगै कृषि क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्षेत्रको सौन्दर्य अभिवृद्धिका लागि २०० वटा लालिगुराँसका बिरुवा रोप्ने योजना रहेको जानकारी दिनुभयो।
स्थानीयवासीहरूले राष्ट्रिय झण्डा स्तम्भले क्षेत्रको पहिचानलाई थप उचाइमा पुर्याउनुका साथै भावी पुस्तामा राष्ट्रियता, गौरव र देशप्रेमको भावना अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गरेका छन्।
ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोटदेउराली क्षेत्रमा राष्ट्रिय झण्डा स्तम्भ स्थापना भएपछि यस क्षेत्र थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।





