दमौली : तनहुँको भानु नगरपालिकाले विद्यार्थी तथा शिक्षकमा शैक्षिक सामग्री निर्माण गर्ने सीपको विकास गर्दै सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने उद्देश्यले नगरस्तरीय शैक्षिक सामग्री निर्माण कार्यशाला तथा प्रदर्शनी आयोजना गर्ने भएको छ। भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई उक्त कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ।
नगरपालिकाका अनुसार शैक्षिक सामग्री निर्माण कार्यशाला तथा प्रदर्शनी आगामी जेठ ३१ गते बिहान १० बजे होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय, भानु नगरपालिका–२, नारेखरटारमा सञ्चालन हुनेछ। कार्यक्रममा प्रत्येक विद्यालयले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका साथै नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषयसँग सम्बन्धित कम्तीमा एक–एक वटा विद्यार्थी निर्मित शैक्षिक सामग्री प्रदर्शनका लागि ल्याउनुपर्ने व्यवस्था गरिएको छ। निर्मित सामग्रीको प्रस्तुतीकरणका लागि सम्बन्धित तहमा अध्ययनरत कम्तीमा दुई–दुई जना विद्यार्थीलाई विद्यालय पोशाकमा शिक्षकको संरक्षणमा सहभागी गराउनुपर्ने जनाइएको छ।
उत्कृष्ट शैक्षिक सामग्रीलाई मूल्याङ्कनका आधारमा प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने विद्यालयले नगद तीन हजार एक सय रुपैयाँ, द्वितीयले दुई हजार छ सय रुपैयाँ र तृतीयले दुई हजार एक सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।यसैगरी सम्पूर्ण विषयगत तथा तहगत शैक्षिक सामग्री निर्माण गरी प्रदर्शनीमा सहभागी हुने सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री निर्माण, खाजा तथा यातायात खर्चबापत अनुदान उपलब्ध गराइने भएको छ। मूल्याङ्कनमा सामग्रीको आकर्षण, पाठ्यक्रमसँगको सान्दर्भिकता, उपयोगिता, टिकाउपन, मौलिकता, सिर्जनात्मकता, स्थानीय सामग्रीको प्रयोग र प्रस्तुतीकरण सीपलाई आधार बनाइने शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले जानकारी दिएकी छन्।
