मनहरीमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँयो

दमौली न्युज
  • ख-
  • ख+

  1. म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वीराजमार्गमा शुक्रबार बिहान एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ६ः२० बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय कुशल परियार घाइते भएका छन्।

उनको चिउँडो, बाँया हात र खुट्टामा चोट लागेको छ। उनी हाल जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत छन्। एम्बुलेन्समा सवार रोल्पा थवाङ–२ निवासी ६१ वर्षीया जुनराखी बुढा मगरको टाउको तथा दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।
त्यसैगरी रोल्पा थवाङ–२ दहबारकी २५ वर्षीया अञ्जना बुढा मगरको अनुहार, छाती, टाउको तथा दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। अञ्जनाका ३ वर्षीय छोरा युवान बुढा मगरको पेट तथा टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

पूर्वी रुकुमको भूमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्तीको टाउको, दाहिने खुट्टा तथा बाँया खुट्टामा चोट लागेको छ। यस्तै रोल्पा थवाङ–२ दरवाङ निवासी ६० वर्षीय धनप्रसाद बुढा मगरको टाउकोमा चोट लागेको छ। उनी पहिलेदेखि नै स्पाइनल हड्डी भाँचिएर छाती र ढाडमा प्लास्टर गरिएको बिरामी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी ३८ वर्षीय महेन्द्र रानाभाट पनि घाइते भएका छन्। घाइतेमध्ये केहीको जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा र अन्यको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्