
दमौलीः व्यास ४ का सिर्जनशील दिदीबहिनी समूहका महिलाले १८ महिनादेखि दुवै मृगौला फेल भए पनि आर्थिक अभावमा प्रत्यारोपण गर्न नसकेका व्यास ४ निवासी अब्दुल गफारको उपचारका लागि ५० हजार एक सय पाँच रुपैयाँ संकलन गरेर परिवारलाई हस्तान्तरण गरेका छन् ।
समूहकी अध्यक्ष नारायणी अधिकारी तथा मुस्लिम अगुवा महिला सहिदा खातुनको अगुवाईमा समूहका सदस्य तथा वडाभरका नागरिकसँग सहयोग संकलन गरेर संकलित रकम हस्तान्तरण गरिएको हो ।
समूहकी अध्यक्ष अधिकारीसहितका महिलाहरुले गफारको घरमा गई उनलाई रकम हस्तान्तरण गरेका छन् ।

३८ वर्षिय गफार हाल डायलसिसको सहारामा बाँचिरहेका छन् । उनको मृगौला प्रत्यारोपणका लागि २० लाख खर्च लाग्ने भने पनि परिवारले जुटाउन नसकेकाले आफूहरुले पनि सहयोग अभियानमा साथ दिएको अध्यक्ष अधिकारीले बताइन् ।
छिमेकका मुस्लिम युवाको उपचारका लागि हिन्दु मुस्लिम दुवै मिलेर सहयोग जारी राखेको र आगामी दिनमा पनि उपचारका लागि सहयोग अभियानमा साथ दिने अधिकारीले प्रतिवद्धता जनाइन् ।