बुटवल : कांग्रेस सभापति गगनकुमार थापाले सीमावर्ती क्षेत्रमा हुने अतिक्रमण, ‘क्रस बोर्डर अकुपेसन’ र विवादका विषयमा तथ्य-प्रमाणबिनै प्रधानमन्त्रीले बोलेको भन्दै यसलाई ‘आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्ति’ भनेका छन् ।
कांग्रेसको बिहीबारदेखि सुरु लुम्बिनी प्रदेशस्तरिय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले यस्तो बताएका हुन् । ‘तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत छ,’ उनले भने, ‘२०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति हो ।’
प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप पनि उनले लगाए । सभापति थापाले यो ‘राष्ट्रिय लज्जाको विषय’ भन्दै प्रधानमन्त्रीले तत्काल संसद्मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताए । साभारः कान्तिपुर
