स्याङ्जा : बिरुवा गाउँपालिकाकी बत्तीकुमारी थापाले ‘दोस्रो गण्डकी लोकतारा २०८३’ को उपाधि जित्नुभएको छ। उहाँले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्नुभएको हो।
उपाधिसँगै थापाले ५५ हजार ५५५ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। उहाँले सर्जक रमेश बीजीको शब्द तथा लयमा निःशुल्क अडियो गीत रेकर्ड गर्ने अवसरसमेत पाउनुभएको छ।
प्रतियोगितामा लमजुङका युगेश परियार दोस्रो, बागलुङकी ललिता घर्तीमगर तेस्रो तथा कास्कीका समिर पुनले सान्त्वना स्थान प्राप्त गर्नुभएको हो।
दोस्रो स्थान हासिल गर्नुभएका परियारले ३३ हजार ३३३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। साथै उहाँले पनि निःशुल्क अडियो गीत रेकर्ड गर्ने अवसर पाउनुभएको छ।
तेस्रो हुनुभएकी घर्तीमगरले २२ हजार २२२ रुपियाँ तथा सान्त्वना स्थान प्राप्त गर्नुभएका पुनले ११ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कलाकारहरूलाई तीन महिनासम्म निःशुल्क संगीत प्रशिक्षणको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी सबै कलाकारलाई जनही पाँच–पाँच हजार रुपियाँ प्रोत्साहनस्वरूप प्रदान गरिएको थियो। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिभाहरूबिच कडा प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ।
